२०८३ कार्तिक १० सोमबार

दुग्ध किसानले मेहनत र लगानी अनुसारको मूल्य पाएनन्, किसान मारमा

ई आर्थिक    आइतबार, कार्तिक ९ २०८३
779
Shares
दुग्ध किसानले मेहनत र लगानी अनुसारको मूल्य पाएनन्, किसान मारमा

दाङ । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्।

दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ। किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।

किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन्।

घोराही उपमहानगरपालिका-२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एकसय लिटरभन्दा बढी दूध उत्पादन गर्छन्। उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गरेका छन् भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउँछन्।

खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर ७५ रूपैयाँभन्दा बढी मूल्य पाउने अवस्था छैन। गाईको दूधको मूल्य भने प्रतिलिटर ६५ रूपैयाँ मूल्य पाउने गरेका छन्। तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर रु एक सय सम्ममा बिक्री गर्ने गरेका छन्।

गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले बताए। ‘मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,’ उनले भने।

दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उनले बताए। उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ।

किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घीउको मूल्य बढाएका छन्। व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागु हुनेगरी मूल्य वृद्धि गरेका हुन्। लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन्।

हाल दही प्रतिलिटर १४०, पनिर प्रतिकिलो ९०० र घीउ प्रतिकिलो एक हजार ४५० रूपैयाँ बनाएका छन्। घोराहीका एक कृषकले प्रतिलिटर ७० देखि ७५ रूपैयाँसम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन्। आफैले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पुर्‍याउने भएकाले प्रतिलिटर ७५ रूपैयाँसम्म मूल्य पाउने गरेको उनको भनाइ छ। तर, दूध बजारसम्म पुर्‍याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए।

लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ। पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ।

किसानहरूले दुधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्‍याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij