२०८३ असोज २७ मंगलबार

सरकारले ६७ करोड ५० लाखको धान किन्ने, किसानलाई उचित मूल्यको आशा

ई आर्थिक    सोमबार, असोज २६ २०८३
855
Shares
सरकारले ६७ करोड ५० लाखको धान किन्ने, किसानलाई उचित मूल्यको आशा

चालु आर्थिक वर्षमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने सरकारको योजना

काठमाडौं ।  कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा चालु आर्थिक वर्ष २०८३/८४ मा ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गरिने भएको छ।

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना अघि बढाइएको हो।

मन्त्रालयले वैज्ञानिक आधारमा निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यअनुसार किसानबाट धान खरिद गर्न आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ। धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले मन्त्री चौधरीले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी खरिद प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ।

आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ। उक्त मूल्य कार्यान्वयन गरी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन मन्त्री चौधरीले सम्बन्धित निकायसँग नियमित समन्वय गरिरहनुभएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ र तिहारको बीचमा धान खरिद प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानलाई उत्पादनको उचित मूल्य प्राप्त हुने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने अपेक्षा गरिएको छ।

मन्त्री चौधरीले सरकारी समर्थन मूल्यमा धान खरिद प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल गरिरहनुभएको छ। यसबाट किसानको उत्पादनले उचित मूल्य पाउने, कृषि क्षेत्रमा किसानको विश्वास बढ्ने तथा धानको बजार व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij