काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार डिजिटल मतदान प्रक्रियामार्फत चयन गर्ने तयारी गरेको छ। पार्टीले निर्वाचन हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै उम्मेदवारको टुंगो लगाउने गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।
कांग्रेस सभापति गगन थापाले सोमबार स्याङ्जामा आयोजित एक कार्यक्रममा आगामी निर्वाचनदेखि नै डिजिटल मतदानमार्फत उम्मेदवार चयन गर्ने व्यवस्था लागू गरिने जानकारी दिएका हुन्।
‘अब उम्मेदवार छनोटमा विगतको टिकट वितरण शैलीलाई निरन्तरता दिइने छैन,’ थापाले भने, ‘अब चुनावको दुई–तीन महिनाअघि नै उम्मेदवारको टुंगो लाग्छ, त्यो पनि डिजिटल मतदानबाट।’
थापाका अनुसार पार्टीको १५औँ महाधिवेशनबाट पारित विधानमा पार्टी सदस्यले डिजिटल मतदानमार्फत उम्मेदवार चयन गर्न सक्ने व्यवस्था समावेश गरिएको छ। उक्त व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने तयारी भइरहेको उनले बताए।
नयाँ प्रक्रियाअनुसार सुरुमा उम्मेदवारका आकांक्षीहरूको प्रारम्भिक सूची तयार गरिनेछ। त्यसपछि पार्टीका विभिन्न तहमा छलफल गरी अन्तिम उम्मेदवारको टुंगो लगाइनेछ। यस प्रक्रियाले उम्मेदवार छनोटलाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उम्मेदवार छनोटका लागि यस्तै शैली अपनाएको थियो। रास्वपाले स्थानीय तहका उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट ‘क्यान्डिडेट क्लब’ मार्फत आवेदन लिइरहेको छ।
यसैबीच, सभापति थापाले पार्टीका क्रियाशील सदस्यताको विवरण अद्यावधिक गर्ने काम एक महिनाभित्र सम्पन्न गरिने पनि बताएका छन्। १५औँ महाधिवेशनका क्रममा सदस्यता अद्यावधिक गर्न बाँकी रहेका व्यक्तिहरूलाई समेत महाधिवेशनमा सहभागी गराइएको उल्लेख गर्दै उनले उनीहरूको सदस्यता विवरण पनि छिट्टै अद्यावधिक गरिने जानकारी दिए।
डिजिटल मतदान प्रणाली लागू गर्ने तयारीसँगै कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र समयबद्ध बनाउने लक्ष्य लिएको छ।