२०८३ कार्तिक १० सोमबार

कांग्रेसमा व्यापक एकता कायम हुँदैछ : महामन्त्री प्रदीप पौडेल

ई आर्थिक    सोमबार, कार्तिक १० २०८३
171
Shares
कांग्रेसमा व्यापक एकता कायम हुँदैछ : महामन्त्री प्रदीप पौडेल

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र व्यापक एकता कायम हुँदै गएको दाबी गर्दै असन्तुष्ट पक्षलाई समेत समेटेर पार्टीलाई थप सुदृढ बनाउने प्रयास भइरहेको बताएका छन्।

नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले कांग्रेसमा रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले पार्टीभित्रका सबै पक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए। “बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,” उनले भने, “कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक र प्रभावकारी योजना ल्याउँछौँ।”

पार्टीभित्र एकताको प्रयास निरन्तर जारी रहने उल्लेख गर्दै पौडेलले एउटै विषयमा अल्झिएर बस्न नहुने बताए। कांग्रेसलाई थप सुदृढ, जनताप्रति उत्तरदायी र परिवर्तनमुखी बनाउनुपर्ने उनको भनाइ थियो।

सरकारको स्थिरताका विषयमा धारणा राख्दै महामन्त्री पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए। कांग्रेस सरकारको स्थिरताको पक्षमा रहेको स्पष्ट पार्दै उनले सरकारले गलत काम गरे निरन्तर खबरदारी गर्ने उल्लेख गरे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक भट्टराई, निवर्तमान केन्द्रीय सदस्य ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गण्डकी प्रदेश सहमहामन्त्री शङ्कर पन्तलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले चाडपर्वले आपसी एकता, भ्रातृत्व र सद्भावको भावना विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij