काठमाडौं। दसैँको मुख्य अवधिमा काठमाडौं उपत्यकामा तरकारी तथा फलफूलको आपूर्ति निरन्तर जारी रहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा कात्तिक १ देखि ८ गतेसम्म आठ दिनमा २७ लाख ९४ हजार २२१ किलो कृषि उपज, माछा तथा अन्य वस्तु भित्रिएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा धेरै हरियो तरकारी भित्रिएको छ। आठ दिनमा २१ लाख ९१ हजार ३२९ किलो हरियो तरकारी बजारमा आएको हो। यो अवधिमा भित्रिएको कुल परिमाणको ठूलो हिस्सा हरियो तरकारीले ओगटेको छ।
समितिको विवरणअनुसार दसैँका आठ दिनमा तीन लाख ८३ हजार ३०० किलो फलफूल बजारमा भित्रिएको छ। त्यसैगरी, एक लाख ११ हजार ७४० किलो मसलाजन्य उपज, ८८ हजार २९७ किलो माछा र १९ हजार ५५५ किलो अन्य विविध वस्तुको आपूर्ति भएको छ।
दैनिक आपूर्तिको विवरणमा भने उतारचढाव देखिएको छ। समितिको तथ्यांकअनुसार आठ दिनमध्ये शनिबार सबैभन्दा धेरै कृषि उपज तथा अन्य वस्तु बजारमा भित्रिएका थिए। उक्त दिन मात्रै छ लाख ११ हजार ८७५ किलो वस्तु बजारमा आएको थियो।
यसको तुलनामा सबैभन्दा कम आपूर्ति भएको दिन एक लाख ३९ हजार १०५ किलो तरकारी, फलफूल तथा माछा बजारमा भित्रिएका थिए।
दसैँका बेला धेरै व्यवसाय तथा बजारको कारोबार प्रभावित हुने गरे पनि कालीमाटीमा कृषि उपजको आपूर्ति उल्लेख्य रहेको तथ्यांकले देखाएको छ।
काठमाडौं उपत्यकाका उपभोक्तालाई दैनिक उपभोग्य कृषि उपज उपलब्ध गराउन कालीमाटी बजारले चाडपर्वको समयमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।