२०८३ असोज १५ बिहिबार

दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
551
Shares
दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही । सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख रुपियाँभन्दा बढी मूल्यको गरगहना बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलबाट ती गरगहना बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्नुभएकी पटेलको जाँच गर्ने क्रममा गरगहना बरामद भएको जानकारी दिनुभयो ।

सीमा जाँचकक्षमा शङ्कास्पद रुपमा प्रस्तुत हुनुभएकी पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चूरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली तथा जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 

पटेलबाट बरामद गरिएको गरगहनाको तौल दुई किलो ६०५ ग्राम रहेको छ । गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा पठाइएकामा सुनको भाग करिब एक किलो रहेको परीक्षणबाट पुष्टी भएको प्रहरीले जनाएको छ ।

बरामद अवस्थाका गरगहनाको भित्री भागमा अन्य धातु र बाहिर देखिने भागमा भने सुन लेपन भएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार प्रचलित मूल्यका आधारमा उक्त सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपियाँ कायम भएको छ । बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएका छ ।

सोही सन्दर्भमा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij