नौबिसे–मुग्लिन सडकखण्डमा निर्माण गरिएको नयाँ ट्र्याकमा परीक्षण सफल, आजदेखि अत्यावश्यक सवारीलाई पनि सञ्चालन अनुमति
मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डको धादिङस्थित कृष्णभीरमा अवरुद्ध सडक असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ।
त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा करिब एक सय मिटर सडक कटान भएपछि गत भदौ १४ गतेदेखि उक्त सडकखण्ड अवरुद्ध थियो। सडक विभागले आवश्यक स्रोत, साधन, जनशक्ति र उपकरण परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अघि बढाएपछि राजमार्ग सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो।
सडक विभागका अनुसार निर्माणाधीन ट्र्याकको अवस्था, सवारी आवागमनको सम्भाव्यता र सुरक्षालगायतका विषयमा परीक्षण गरिएको छ। आइतबार यात्रुसहितका सवारी साधन काठमाडौं–चितवनतर्फ आवतजावत गराएर परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा सवारी सञ्चालन गर्न सकिने अवस्था देखिएपछि असोज १ गतेदेखि सर्वसाधारणका लागि सडक खुला गर्ने तयारी गरिएको विभागले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन आयोजना पश्चिमकी कार्यालय प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीका अनुसार सोमबार पनि परीक्षणलाई निरन्तरता दिइनेछ। सोमबारदेखि ग्यासका बुलेटलगायत अत्यावश्यक सवारी साधनलाई समेत उक्त सडकखण्डबाट सञ्चालन गर्न दिइनेछ।
बाढीले क्षति पुर्याएको सडकको विकल्पका रूपमा भिर डाइभर्सन गरी २५२ मिटर लम्बाइ र १० मिटर चौडाइको नयाँ ट्र्याक निर्माण गरिएको छ। यही नयाँ ट्र्याकका कारण अवरुद्ध राजमार्ग पुनः सञ्चालनको आधार तयार भएको हो।
सडक विभागले अहिले पनि सडकको अवस्था, सवारी आवागमनको सम्भाव्यता तथा सुरक्षासम्बन्धी आवश्यक परीक्षण र अन्य काम जारी रहेको जनाएको छ।
विभागले सडक निर्माण तथा पुनःस्थापनाका क्रममा जारी गरिएका सूचना, निर्देशन तथा वैकल्पिक मार्गसम्बन्धी व्यवस्थाको पालना गर्न र पुनःस्थापनाको काममा आवश्यक सहयोग गर्न सम्बन्धित निकाय तथा सरोकारवालालाई आग्रह गरेको छ।