२०८३ भाद्र २२ सोमबार

अर्थतन्त्र चलायमान बनाउन सरकारको पाँच क्षेत्रमा विशेष योजना

ई आर्थिक    सोमबार, भाद्र २२ २०८३
209
Shares
अर्थतन्त्र चलायमान बनाउन सरकारको पाँच क्षेत्रमा विशेष योजना

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट प्रभावित नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सरकारले पाँच क्षेत्रमा केन्द्रित भएर काम अघि बढाइरहेको बताएका छन्।

बीबीसीसँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले लामो समयदेखि आर्थिक मन्दीबाट बाहिरिन प्रयासरत नेपालको अर्थतन्त्रमा भीषण बाढी तथा विपद्ले थप दबाब सिर्जना गरेको बताए। विपद्का कारण प्रभावित अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकारले तत्कालीन तथा दीर्घकालीन योजनासहित काम अघि बढाएको उनको भनाइ छ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन ‘बिजनेस रिकभरी प्याकेज’ ल्याइएको छ। उक्त प्याकेज मन्त्रिपरिषद्बाट पारित भइसकेको उनले जानकारी दिए।

त्यस्तै, सरकारले पुँजी बजारलाई सुदृढ बनाउने तथा सेयर बजार सुधार गर्ने योजना पनि अघि बढाउने तयारी गरेको छ। अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बढाउन आर्थिक सहुलियत तथा लगानी प्रोत्साहनसम्बन्धी विशेष प्याकेज ल्याउने तयारी भइरहेको वाग्लेले बताए।

अर्थमन्त्री वाग्लेले नेपाललाई एफएटीएफको ‘ग्रे लिस्ट’बाट शीघ्र बाहिर निकाल्न रणनीतिक रूपमा काम भइरहेको समेत जानकारी दिए। वित्तीय प्रणाली सुधार तथा अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने सरकारको प्राथमिकता रहेको उनको भनाइ छ।

बाढीबाट भएको क्षति तथा नोक्सानीको विस्तृत अनुमान गरी पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय वित्तीय स्रोत जुटाउने तयारी पनि भइरहेको उनले बताए।

सरकारले व्यवसाय पुनरुत्थान, पुँजी बजार सुधार, निजी क्षेत्र प्रोत्साहन, एफएटीएफ ग्रे लिस्टबाट बाहिरिने प्रयास तथा विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई पुनः गतिशील बनाउने रणनीति अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij