काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ। भेटवार्तामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानबारे छलफल भएको छ।
भेटमा विशेषगरी बाढीपछि सम्पर्कविहीन रहेका दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा छलफल भएको थियो। मन्त्री खनालले नेपालमा उद्धार तथा राहतका लागि अन्तरनिकाय द्रुत प्रतिक्रिया टोली र कोरिया डिजास्टर रिलीफ टिम (KDRT) पठाएकोमा दक्षिण कोरियाली सरकारप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले दक्षिण कोरियाले उपलब्ध गराएको मानवीय सहायता तथा राहत सामग्रीका लागि समेत धन्यवाद दिँदै विपद्पछिको पुनर्निर्माणमा नेपालले लचिलो, दिगो र अझ राम्रो पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताउनुभयो। यसका लागि दक्षिण कोरियाबाट निरन्तर सहयोगको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो।

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले नेपाललाई विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताउनुभयो। जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका प्रभावबारे विश्व समुदायलाई सचेत गराउन नेपाल र दक्षिण कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
विशेषगरी कोप (COP) जस्ता अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका विषयमा आवाज उठाउने प्रतिबद्धता पनि दक्षिण कोरियाली विदेशमन्त्रीले व्यक्त गर्नुभयो। नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका लागि समेत दक्षिण कोरियाले आवाज उठाउने उहाँले बताउनुभयो।
भेटवार्ताका क्रममा दुवै देशका विदेशमन्त्रीले दीर्घकालीन मित्रता, पारस्परिक विश्वास र सहकार्यका आधारमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्याउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।