काठमाडौं । चीन सरकारले नेपालका लागि उपलब्ध गराएको ५० टन आपत्कालीन राहत सामग्री आइतबार काठमाडौं आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। चीनको चेङ्दु सुआन्लियु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं अवतरण गरेका थिए।
राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन तथा संघीय संसद्का सदस्य धर्म केसीको उपस्थिति थियो।
सो अवसरमा राजदूत माओमिङले राहत सामग्री औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै चीनबाट नेपाल आएका उद्धार विशेषज्ञहरूको स्वागत गरेका थिए।
राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणसमेत नेपाल आइपुगेका छन्। प्राप्त राहत सामग्रीमा पाल, कम्बल, स्लिपिङ ब्याग, तयारी खाजा र प्राथमिक उपचार किटलगायत सामग्री छन्।
चीनले उपलब्ध गराएको राहत सामग्रीमा कुल १३ हजार २ सय थान सामग्री रहेका छन् भने सम्पूर्ण सामग्रीको कुल तौल ५० टन रहेको छ।