काठमाडौं । अमेरिकाको एरिजोना राज्यस्थित ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्जमा आएको आकस्मिक बाढीपछि करिब १५ जना मानिस सम्पर्कविहीन भएको आशंका गरिएको छ। बाढीले पुल तथा पदयात्रा मार्गमा क्षति पुर्याउनुका साथै दर्जनौं पदयात्री र क्याम्पिङ गरिरहेका पर्यटकलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको अधिकारीहरूले बताएका छन्।
निकुञ्ज सेवाका अनुसार सुरुमा करिब २० जना सम्पर्कविहीन हुन सक्ने अनुमान गरिएको थियो। पछिल्लो विवरणअनुसार करिब १५ जनाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन।
बाढीले पुल र पदयात्रा मार्गमा क्षति
स्थानीय समयअनुसार शनिबार दिउँसो ब्राइट एन्जल क्रिकमा आएको आकस्मिक बाढीले खोलामाथिका पैदल पुलहरू बगाएको छ। बाढीसँगै ठूला ढुंगा, धातुका संरचना र अन्य भग्नावशेषसमेत कोलोराडो नदीतर्फ बगेको निकुञ्ज सेवाले जनाएको छ।
बाढीपछि ब्राइट एन्जल क्याम्पग्राउन्ड, फ्यान्टम रान्च तथा नर्थ काइबाब ट्रेलका केही भाग बन्द गरिएको छ। कोलोराडो नदीमा सञ्चालन हुने र्याफ्टिङ यात्रासमेत रोकिएको छ।
फ्यान्टम रान्चबाट ६२ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
पदयात्री पार्थ देसाईले बाढीका क्रममा ढुंगा, हिलो र पहिरो बगेको बताएका छन्। उनका अनुसार खोलामा अचानक ठूलो बाढी आएको, झरनाजस्तो पानी खसेको र चारैतिर पहिरो गएको देखिएको थियो।
मुख्य पानी पाइपलाइनमा क्षति

बाढीले पर्यटक तथा स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउने मुख्य पाइपलाइनमा समेत क्षति पुर्याएको छ। यससँगै निकुञ्जमा पानीको स्रोत सीमित भएको छ।
उक्त पाइपलाइनले दक्षिणी किनारका सबै संरचनामा खानेपानी तथा आगलागी नियन्त्रणका लागि आवश्यक पानी आपूर्ति गर्दै आएको थियो। दक्षिणी किनारमा प्रमुख पदयात्रा मार्ग, दृश्यावलोकनस्थल, होटल, लजलगायतका पर्यटकीय संरचना रहेका छन्।
पानी आपूर्ति प्रभावित भएपछि सोमबारदेखि निकुञ्जभित्रका लज तथा होटलमा पर्यटकलाई रातभर बस्न रोक लगाइएको छ। निकुञ्ज प्रशासनले वर्षभरि त्यहाँ बसोबास गर्ने बासिन्दालाई समेत पानी अत्यन्तै सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको छ।
३० मिनेटमै १ देखि २.५ सेन्टिमिटरसम्म वर्षा
अमेरिकाको राष्ट्रिय मौसम सेवाका मौसमविद् जस्टिन जोनड्रोका अनुसार बाढी प्रभावित क्षेत्रमा करिब ३० मिनेटमा १ देखि २.५ सेन्टिमिटरसम्म वर्षा भएको थियो।
ग्रान्ड क्यान्यन क्षेत्रमा उचाइमा ठूलो अन्तर रहेकाले परेको पानी तीव्र गतिमा तल्लो क्षेत्रमा बग्ने गरेको उनले बताएका छन्। यही कारण छोटो समयको भारी वर्षाले समेत अचानक ठूलो बाढी निम्त्याएको बताइएको छ।
पुरानो पाइपलाइन सुधारको काम जारी
ग्रान्ड क्यान्यनको मुख्य पानी पाइपलाइन लामो समयदेखि पटक–पटक बिग्रिँदै आएको थियो। यसको पुनर्निर्माण तथा पानी वितरण प्रणाली सुधार गर्ने परियोजना सन् २०२३ मा सुरु गरिएको थियो।
निकुञ्ज प्रशासनका अनुसार उक्त परियोजना सन् २०२७ सम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ। तर पछिल्लो बाढीबाट पाइपलाइनमा थप क्षति भएपछि पर्यटकको चाप बढ्ने लेबर डे सप्ताहान्तमा पानी आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ।