रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव थुनिएर नयाँ ताल बनेको पुष्टि भएको छ।
काठमाडौं : रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा प्राकृतिक पहिरोका कारण ल्हेन्दे खोलाको बहाव थुनिएर करिब ०.११ वर्गकिलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको स्याटेलाइट तस्बिरबाट पुष्टि भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार बिहान ११:४४ बजे प्राप्त प्लानेट ल्याब्स र ल्यान्डसको भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणबाट नदी थुनिएर ताल बनेको देखिएको हो। अध्ययनका लागि स्टिम्सन सेन्टरको स्याटेलाइट तस्बिरसमेत प्रयोग गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले ताल बनेको स्थानमा रहेको प्राकृतिक बाँध कमजोर रहेकाले जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको जनाएको छ। बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने र त्यसबाट भोटेकोशी तथा त्रिशूली नदीको तटीय क्षेत्रमा पुनः गम्भीर क्षति हुन सक्ने जोखिम रहेको छ।
यसअघि आएको बाढीको जोखिम अझै कायम रहेकाले प्राधिकरणले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, यात्रु तथा फिल्डमा खटिएका उद्धारकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले तत्काल नदी किनारबाट टाढा सुरक्षित स्थानमा जान र सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन अनुरोध गरेको छ।
प्राधिकरणको आग्रहअनुसार नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका व्यक्तिले सम्भावित जोखिमलाई सामान्य नठानी सुरक्षित स्थानमा सर्नु आवश्यक रहेको छ।