काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाले ३३६ जनाको हवाई उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार भदौ ११ गते बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे तथा मैलुङ इलाकाबाट नेपाली सेनाका हवाईसाधनमार्फत विभिन्न ६ देशका ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरिएको हो।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिँदै नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको जनाएको छ। सेनाका अनुसार करिब ४ हजार फौज परिचालन गरी घाइते तथा प्रभावितको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम समन्वयात्मक रूपमा भइरहेको छ।

नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै आवश्यकताअनुसार थप सहयोग र उद्धार कार्य अघि बढाइरहेको जनाएको छ।