२०८३ भाद्र ५ शुक्रबार

तामाकोशी–५ जलविद्युत् आयोजनामा पाँच वर्किङ फेसबाट एकैसाथ सुरुङ खन्न सुरु, कामले लियो गति

ई आर्थिक    शुक्रबार, भाद्र ५ २०८३
304
Shares
तामाकोशी–५ जलविद्युत् आयोजनामा पाँच वर्किङ फेसबाट एकैसाथ सुरुङ खन्न सुरु, कामले लियो गति

दोलखा । दोलखामा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनाको सुरुङ निर्माणले गति लिएको छ । आयोजनाका पाँच वटा वर्किङ फेसबाट एकैसाथ सुरुङ खन्न सुरु गरिएको हो ।

वनक्षेत्र प्रयोगको स्वीकृति नपाउँदा करिब आठ महिनासम्म निर्माण प्रभावित भएको आयोजना गत चैतदेखि पुनः सञ्चालनमा आएको थियो । सबै अडिट सुरुङको काम पूरा भएपछि पाँच वर्किङ फेसबाट सुरुङ निर्माण अघि बढाइएको आयोजनाका सहायक प्रबन्धक नवीन न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाको मुख्य हेडरेस सुरुङ ८ हजार १०० मिटर लामो छ । हालसम्म यसको १५० मिटर उत्खनन भएको छ । मुख्य सुरुङसँगै अधिकांश पहुँच सुरुङको उत्खनन पनि सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

पावरहाउस अडिटको १ हजार ९१६.२६ मिटरमध्ये १ हजार ७५६.६५ मिटर अर्थात् करिब ९२ प्रतिशत उत्खनन पूरा भएको छ । त्यस्तै, स्पिलवे सुरुङको २९१ मिटर, पेनस्टकको १११ मिटर र प्रेसर हेडरेस टनेलको ७९६ मिटर उत्खनन सम्पन्न भएको छ ।

टेलरेस सुरुङ र ठाडो सुरुङको उत्खननसमेत सुरु भएको छ । टेलरेसतर्फ ७७४ मिटर र भर्टिकल साफ्टतर्फ १७२ मिटर उत्खनन गर्न बाँकी छ । समग्रमा आयोजनाका भूमिगत सुरुङ संरचनातर्फ करिब ३३ प्रतिशत उत्खनन सम्पन्न भएको छ ।

तीन ठेक्का प्याकेजमार्फत निर्माण

तामाकोशी–५ जलविद्युत् आयोजना तीन प्रमुख ठेक्का प्याकेजमार्फत निर्माण भइरहेको छ । प्याकेज–१ अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणको काम भइरहेको छ । सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ । उक्त कम्पनी दुई वर्षदेखि आयोजनास्थलमा परिचालित छ ।

प्याकेज–२ अन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण तथा प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता भइसकेको छ भने हाल डिजाइनको काम भइरहेको छ । प्याकेज–३ अन्तर्गत स्थायी शिविर निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी सुलभ श्रेष्ठका अनुसार कुल २१ अर्ब ९५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वित्तीय प्रगति २५ प्रतिशत पुगेको छ । हालसम्म ५ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । प्रतिवेदन अवधिमा मात्रै २ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

तामाकोशी–५, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij