२०८३ भाद्र ५ शुक्रबार

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने, ६ सदस्यीय समिति गठन

ई आर्थिक    शुक्रबार, भाद्र ५ २०८३
152
Shares
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने, ६ सदस्यीय समिति गठन

काठमाडौं । सरकारले सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार तथा प्रविधिमैत्री सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ।

केन्द्र स्थापनाका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा समितिले केन्द्र स्थापनाको आवश्यक तयारी तथा काम अघि बढाउने जानकारी दिए।

यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ स्वीकृत गरेको थियो। सोही आदेशअनुसार समिति गठन गरिएको हो।

सरकारले प्रस्तावित केन्द्रमा एक जना कार्यकारी निर्देशकसहित ३० जना कर्मचारी रहने व्यवस्था गर्ने तयारी गरेको छ। आवश्यकताअनुसार थप विज्ञ कर्मचारीसमेत लिन सकिने व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए।

उनका अनुसार केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, विद्युतीय शासन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ। सरकारी निकायका लागि आवश्यक सफ्टवेयर विकास तथा सञ्चालनमा समेत केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकले तत्काल अनुभूति गर्न सक्ने सेवासँग सम्बन्धित ६५ वटा अवधारणाको मस्यौदा सबै मन्त्रालयमा पठाएको छ। सम्बन्धित मन्त्रालयहरूले ती अवधारणालाई कार्यान्वयनमा लैजान थालेको प्रवक्ता अर्यालले जानकारी दिए।

सरकारले नयाँ केन्द्रमार्फत सरकारी सेवा प्रवाहलाई थप डिजिटल, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij