२०८३ भाद्र २ मंगलबार

शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

ई आर्थिक    मंगलबार, भाद्र २ २०८३
190
Shares
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरद्वारा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग

काठमाडौं : शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथलेटिक्स धावक आयुष कुँवरले २०० मिटर दौडमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन् ।

अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा उनले २१.८७ सेकेन्डमा २०० मिटर दूरी पूरा गर्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गराएका हुन् । यसअघि पनि उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेन्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेन्डको नयाँ कीर्तिमान 60m race ma बनाएका थिए । यो कीर्तिमान वर्ल्ड एथलेटिक्सको वेबसाइटमा समेत अनुबन्ध गरिएको छ, साथै, मिति अगस्ट ९, २०२६ मा लण्डनमा सम्पन्न २०० मिटर दौडमा उनले आफ्नै नाममा रहेको २१.८७ सेकेण्डको रेकर्डलाई तोड्दै २१.६६ सेकेण्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन्। आफ्नै रेकर्ड आफैं तोड्दै उनले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।

नेपाली खेलकुद क्षेत्रमै अवसरको कमी छ र एथलेटिक्समा झनै बढी । खेलाडीहरूले अवसर नपाएकै कारण यो कीर्तिमान ३० वर्षपछि मात्र टुटेको हो । राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनको सन् २०२३ देखिनै बनेको थियो । खेल बुझ्दै जाँदा उनले आफैं अवसरहरू खोजेर, वर्ल्ड एथलेटिक्स स्वीकृत प्रतिस्पर्धाहरूमा सहभागी भई यो कीर्तिमान बनाएका हुन् । विश्व एथलेटिक्स (World Athletics) खेलको विश्वव्यापी नियमनकारी संस्था हो, जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूको नियम, मापदण्ड र कीर्तिमानहरूलाई आधिकारिक रूपमा मान्यता दिन्छ । यसैले, यस संस्थाबाट स्वीकृत (sanctioned) प्रतियोगितामा बनेको कीर्तिमानलाई मात्रै अन्तर्राष्ट्रिय स्तरमा वैध र आधिकारिक मानिन्छ, जुन खेलाडीको उपलब्धिलाई विश्वसनीयता दिने महत्वपूर्ण आधार हो ।

आयुष कुँवरलाई शिवम् सिमेन्टले नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहनका लागि अनुबन्धित गरेको हो । उनको सन् २०२३ देखिको एथलेटिक्स करियरमा शिवम् सधैं साथमा रहेको छ । उनलाई आवश्यक परेका बेला हवाई टिकट, पोशाक तथा आवश्यक सहयोग गर्दै आईरहेको छ ।

सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताको क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले कठिन पुनरागमन गर्दै एक वर्षपछि राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन् । चोटपटक, सीमित स्रोतसाधन तथा संस्थागत चुनौतीहरूका बाबजुद उनले निरन्तर प्रशिक्षण र अथक मेहनतमार्फत यो सफलता हासिल गरेका हुन् ।

हाल अमेरिकामा प्रशिक्षणरत आयुषले आफ्नै पहल, समर्पण र अनुशासनका साथ नेपाली एथलेटिक्सलाई नयाँ उचाइमा पुर्‍याउने अभियानलाई निरन्तरता दिँदै आएका छन् । उनले आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता तथा खेल जीवनका अधिकांश पक्षहरू स्वयं व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । यो कीर्तिमान विश्वका अन्य मुलुकहरूको हाराहारीमा नपुग्न सक्छ, तर पूर्णकालीन जागिर, प्रशिक्षण र चोटपटकसमेत आफैं व्यवस्थापन गर्नुपर्ने अवस्थामा रहेका खेलाडीका लागि ३० वर्ष पुरानो कीर्तिमान तोड्नु आफैंमा एउटा उपलब्धि हो ।

कीर्तिमानपछि प्रतिक्रिया दिँदै आयुष कुँवरले भने, “तीन दशक पुरानो कीर्तिमान तोड्न सफल हुँदा अत्यन्त गर्व महसुस भएको छ, तर यो कीर्तिमान ३० वर्षसम्म कायम रहनुको कारण हाम्रा स्प्रिन्टरहरूले अवसर नपाएकै हो । कीर्तिमान भनेको त तोड्नकै लागि हो । अब एउटा नयाँ मापदण्ड फेरि सेट भएको छ र आउने दिनका एथलिटहरूले चाँडै यसलाई ब्रेक गर्नेछन् भन्ने आशा छ । त्यसको लागि हामी ‘स्प्रिन्ट प्रोजेक्ट’ नामक निजी परियोजना ल्याउन खोज्दैछौं, जसमा शिवम् सिमेन्टको  साथ फेरि अपेक्षा गर्नेछौं ।”

शिवम् सिमेन्टले आयुषको यस ऐतिहासिक उपलब्धिप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको प्रोत्साहन तथा राष्ट्रिय गौरव अभिवृद्धिका लागि आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ । त्यसैले सन् २०२७ मा अमेरिकामा हुने वर्ल्ड मास्टर इन्डोर च्याम्पियनसिपका लागि आयुष कुँवरका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई सहयोग गर्ने लक्ष्य समेत शिवम् सिमेन्टको रहेको छ । यो उपलब्धिले उचित अवसर, दृढ इच्छाशक्ति र निरन्तर मेहनत भए नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सक्ने स्पष्ट सन्देश दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij