२०८३ भाद्र १ सोमबार

गुल्मीमा उद्योग–व्यवसाय धमाधम बन्द, नयाँ दर्ताभन्दा पाँच गुणा बढी बन्द

ई आर्थिक    शुक्रबार, साउन २९ २०८३
931
Shares
गुल्मीमा उद्योग–व्यवसाय धमाधम बन्द, नयाँ दर्ताभन्दा पाँच गुणा बढी बन्द

गुल्मी । गुल्मीमा उद्योग–व्यवसाय सञ्चालनमा चुनौती बढ्दै गएको देखिएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले नयाँ उद्योग–व्यवसाय दर्ता गर्नेभन्दा बन्द गर्नेको सङ्ख्या निरन्तर बढी रहेको देखाएको छ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५७ वटा मात्रै नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका छन्। सोही अवधिमा उद्योगतर्फ १३९ र वाणिज्यतर्फ १४५ गरी २८४ वटा उद्योग–व्यवसाय बन्द भएका छन्।

अर्थात्, गत आर्थिक वर्षमा नयाँ दर्ता भएका व्यवसायको तुलनामा बन्द हुनेको सङ्ख्या पाँच गुणाभन्दा बढी रहेको छ।

यस अवधिमा ८९९ वटा व्यवसाय नवीकरण भएका छन्। कार्यालयका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीका अनुसार नवीकरणबाट १३ लाख ९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

एक वर्षमै ५८३ व्यवसाय बन्द

आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ २६३ र वाणिज्यतर्फ ३२० गरी ५८३ वटा उद्योग–व्यवसाय बन्द भएका थिए। सोही वर्ष उद्योगतर्फ ५८ र वाणिज्यतर्फ ५२ गरी ११० वटा मात्रै नयाँ उद्योग–व्यवसाय दर्ता भएका थिए।

त्यस वर्ष १ हजार १४० वटा व्यवसाय नवीकरण हुँदा कार्यालयले ४७ लाख ७४ हजार २३५ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

यस्तै, आर्थिक वर्ष २०८०/८१ मा उत्पादनमूलक नौ, कृषि तथा वनजन्य ५०, पर्यटन ६५ र सेवामूलक ३८ गरी १६२ वटा उद्योग बन्द भएका थिए। वाणिज्यतर्फ १८७ वटा व्यक्तिगत फर्म बन्द भएका थिए।

सोही वर्ष उद्योगतर्फ ७३ र वाणिज्यतर्फ ६३ वटा नयाँ उद्योग–व्यवसाय दर्ता भएका थिए। उद्योगतर्फ २९५ र वाणिज्यतर्फ ४२९ वटा व्यवसाय नवीकरण भएका थिए।

युवामा उद्यमप्रति आकर्षण घट्दो

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालका अनुसार युवापुस्तामा उद्यमप्रतिको आकर्षण घट्नु, छोटो समयमै सफलता हासिल गर्न खोज्नु, ऋण लिनकै लागि व्यवसाय दर्ता गर्नु तथा व्यवसायबाट अपेक्षाअनुसार प्रतिफल प्राप्त नहुनुलगायत कारणले उद्योग–व्यवसाय बन्द हुने क्रम बढेको हो।

उनका अनुसार पछिल्लो समय पाँच लाख रुपैयाँसम्म पुँजी भएका व्यवसाय स्थानीय तहमै दर्ता हुने व्यवस्था भएकाले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने व्यवसायको सङ्ख्यासमेत घटेको छ।

व्यवसाय बन्द गरेपछि औपचारिक रूपमा लगत कट्टा नगर्दा व्यवसायीले पछि ठूलो रकम जरिवाना तिर्नुपर्ने अवस्था आउने गरेको अर्यालले बताए। व्यवसाय सञ्चालन नगरे पनि दर्ता कायम राख्दा नवीकरण तथा अन्य दायित्व थपिँदै जाने भएकाले समयमै लगत कट्टा गर्नुपर्ने उनको सुझाव छ।

स्रोत–साधन अभावले उद्यम क्षेत्र प्रभावित

गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव चेतनारायण पाण्डेयले स्थानीय तह स्थापना भएपछि गाउँ–गाउँमा व्यवसायप्रति उत्साह बढे पनि पर्याप्त स्रोत र साधनको अभावमा कृषि, पशुपालन, रोजगारी तथा उद्यमशीलताको क्षेत्रमा अपेक्षित काम हुन नसकेको बताए।

सरकारले व्यवसायको सुरक्षा तथा लगानीको प्रत्याभूति दिन नसक्दा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।

नयाँ उद्योग स्थापना गर्नेभन्दा सञ्चालनमा रहेका उद्योग–व्यवसाय बन्द हुने क्रम बढ्दै जानुले जिल्लामा रोजगारी, उत्पादन र स्थानीय अर्थतन्त्रमा समेत दीर्घकालीन असर पर्न सक्ने सरोकारवालाहरूको चिन्ता छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij