२०८३ साउन २२ शुक्रबार

मेची भन्सारको राजस्व लक्ष्य प्राप्तिमा निरन्तर सुधार, चार वर्षमा ७०.२१ प्रतिशतबाट ९३.३० प्रतिशत पुग्यो

ई आर्थिक    शुक्रबार, साउन २२ २०८३
171
Shares
मेची भन्सारको राजस्व लक्ष्य प्राप्तिमा निरन्तर सुधार, चार वर्षमा ७०.२१ प्रतिशतबाट ९३.३० प्रतिशत पुग्यो

झापा ।  राजस्व सङ्कलनतर्फ निरन्तर सुधार गर्दै आएको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ। पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्कले कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशत पुगेको देखाएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख ४८ हजार ३०० राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। उक्त अवधिमा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब रु १ अर्ब ७४ करोड ६० लाखले बढी हो।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयलाई रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो। सो वर्ष रु १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गर्दै लक्ष्यको ९१.८६ प्रतिशत हासिल गरेको थियो।

त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा रु १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु १४ अर्ब २३ करोड ५२ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो। उक्त वर्ष लक्ष्य प्राप्ति दर ७८.४० प्रतिशत रहेको थियो।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा रु २० अर्ब २४ करोड १८ लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य दिइएकामा रु १४ अर्ब ४ करोड ५९ लाख २० हजार राजस्व सङ्कलन भएको थियो। त्यस वर्ष लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतमा सीमित रहेको थियो।

चार आर्थिक वर्षको तुलनात्मक विवरणले लक्ष्य प्राप्तिमा निरन्तर सुधार भएको देखाएको छ। वार्षिक लक्ष्यमा केही उतारचढाव भए पनि वास्तविक राजस्व सङ्कलन भने पछिल्ला वर्षहरूमा लगातार बढ्दै गएको कार्यालयको तथ्याङ्कले जनाएको छ।

विसं २०१३ मा स्थापना भएको मेची भन्सार कार्यालय नेपालका प्रमुख तथा रणनीतिक महत्वका भन्सार कार्यालयमध्ये एक हो। कार्यालय मातहत छ वटा छोटी भन्सार कार्यालय रहे पनि हाल गौरीगञ्ज छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा रहेको कार्यालयका सूचना अधिकारी मांकल राईले जानकारी दिए। अन्य छोटी भन्सार कार्यालय हाल सञ्चालनमा छैनन्।

मेची भन्सार कार्यालयमार्फत भारत, चीन, बङ्गलादेश, भुटानलगायत मुलुकसँग आयात–निर्यात व्यापार हुँदै आएको छ। पूर्वी नेपालको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको यस कार्यालयले मुलुकको राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij