एलपी ग्यासको मूल्य यथावत
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य सोमबार (साउन १८) बिहान १२ः०१ बजेदेखि लागू हुनेछ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। त्यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौं) मा प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने ब्रेकइभन प्वाइन्ट मा कायम गरिएको छ।
मूल्य समायोजनपछि पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य क्रमशः १२८, १२९ र १३० रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल/मट्टितेलको मूल्य क्रमशः ११२, ११३ र ११४ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ। एलपी ग्यासको मूल्य भने यथावत् २ हजार ६० रुपैयाँ (१४.२ केजी) कायम राखिएको छ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट जुलाई ३१ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ९९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा १९ रुपैयाँ ६ पैसा लागत बढेर आएको थियो। तर आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै पूर्ण लागतअनुसार मूल्य समायोजन नगरिएको निगमले जनाएको छ।
निगमले मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने अनुमान गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले उत्पन्न परिस्थितिमा उपभोक्ताले इन्धनको मितव्ययी प्रयोग गर्न सहयोग गरिदिन निगमले आग्रह गरेको छ।