२०८३ साउन २१ बिहिबार

खराब कर्जा बढ्दा कृषि विकास बैंकको नाफा ३० प्रतिशतले घट्यो, निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुग्यो

ई आर्थिक    बिहिबार, साउन २१ २०८३
133
Shares
खराब कर्जा बढ्दा कृषि विकास बैंकको नाफा ३० प्रतिशतले घट्यो, निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुग्यो

काठमाडौं। सरकारी स्वामित्वको कृषि विकास बैंकको खराब कर्जा (निष्क्रिय कर्जा) बढ्दै जाँदा आर्थिक वर्ष २०८२/८३ मा बैंकको नाफामा ठूलो दबाब परेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खराब कर्जा एक वर्षमै ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेपछि सम्भावित कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) मा ठूलो रकम छुट्याउनुपर्दा खुद नाफा उल्लेख्य रूपमा घटेको हो।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँको तुलनामा २९.५२ प्रतिशत कम हो। एक वर्षको अवधिमा बैंकको नाफा १ अर्ब १० करोड रुपैयाँभन्दा बढीले घटेको देखिएको छ।

प्रोभिजनिङमा ८६ प्रतिशत वृद्धि

बैंकको नाफा घट्नुको मुख्य कारण खराब कर्जा वृद्धि भएको देखिएको छ। कर्जा असुलीमा चुनौती बढेसँगै सम्भावित नोक्सानी व्यवस्थापनका लागि छुट्याइने रकममा ठूलो वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्षमा ६३ करोड ७ लाख रुपैयाँ रहेको कर्जा नोक्सानी व्यवस्थापन खर्च बढेर गत वर्ष १ अर्ब १७ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन करिब ८६ प्रतिशतको वृद्धि हो।

खराब कर्जा बढ्दा बैंकले कर्जाबाट अपेक्षित ब्याज आम्दानी गर्न नसक्नुका साथै जोखिम व्यवस्थापनका लागि थप रकम छुट्याउनुपर्ने भएकाले सञ्चालन नाफा र खुद नाफा दुवैमा दबाब परेको देखिन्छ।

कर्जा बढ्यो, तर ब्याज आम्दानी घट्यो

गत आर्थिक वर्षमा कृषि विकास बैंकको कर्जा लगानी १६.२४ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। तर, कर्जा विस्तार भए पनि त्यसअनुसार आम्दानी बढ्न सकेन।

बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ थियो।

त्यसैगरी, बैंकको स्प्रेड दर ३.९६ प्रतिशतबाट घटेर ३.६६ प्रतिशतमा झरेको छ। ब्याजदर अन्तर घट्दा कर्जाबाट हुने खुद आम्दानी पनि खुम्चिएको बैंकको वित्तीय विवरणले देखाएको छ।

कर्मचारी खर्च बढ्दा थप दबाब

बैंकको सञ्चालन खर्च पनि बढेको छ। कर्मचारी खर्च ४ अर्ब १७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५० करोड ८५ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा थप दबाब सिर्जना गरेको छ।

यद्यपि, फी तथा कमिसन आम्दानी भने सकारात्मक देखिएको छ। यस्तो आम्दानी ९.६४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ। तर, ब्याज आम्दानीमा आएको गिरावट र प्रोभिजनिङमा भएको वृद्धिका कारण यसको सकारात्मक प्रभाव सीमित भएको छ।

निक्षेप बढ्यो, लाभांश क्षमता घट्यो

बैंकको कुल निक्षेप १५.५ प्रतिशतले बढेर २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। यसले बैंकसँग लगानीयोग्य स्रोत बढेको देखाए पनि कर्जा असुली र कर्जाको गुणस्तरमा चुनौती कायम रहेको संकेत गरेको छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि २४ रुपैयाँ ५९ पैसाबाट घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड २२ लाख रुपैयाँ रहेको छ। यसका आधारमा बैंकले करिब ६.५४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिन्छ।

कर्जा विस्तारभन्दा गुणस्तर सुधार ठूलो चुनौती

कृषि विकास बैंकको पछिल्लो वित्तीय अवस्थाले व्यवसाय विस्तार भए पनि कर्जाको गुणस्तरमा सुधार नआउँदा नाफा प्रभावित भएको देखाएको छ।

निक्षेप र कर्जा दुवै बढे पनि निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजनिङ खर्च उच्च भएको, ब्याज आम्दानी घटेको र सञ्चालन खर्च बढेकाले बैंकको नाफामा दोहोरो दबाब परेको छ।

अब बैंकका लागि कर्जा विस्तारसँगै खराब कर्जा नियन्त्रण, प्रभावकारी असुली र कर्जाको गुणस्तर सुधार नै प्रमुख चुनौतीका रूपमा देखिएको छ। निष्क्रिय कर्जा घटाउन नसके व्यवसाय विस्तारको प्रतिफल अपेक्षाअनुसार प्राप्त गर्न कठिन हुने संकेत वित्तीय विवरणले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij