२०८३ साउन १७ आइतबार

चार जनाको मृत्यु पुष्टि, नेपाली गाइड पुरबहादुर गुरुङसहित तीनको पहिचान, निम्स दाईसहित सात जना अझै बेपत्ता

ई आर्थिक    शनिबार, साउन १६ २०८३
361
Shares
चार जनाको मृत्यु पुष्टि, नेपाली गाइड पुरबहादुर गुरुङसहित तीनको पहिचान, निम्स दाईसहित सात जना अझै बेपत्ता

ब्रोड पिकमा भीषण हिमपहिरो

इस्लामाबाद। पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी चार जना पर्वतारोहीको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ। गिल्गट–बाल्टिस्तान कमिसनर कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये तीन जनाको पहिचान खुलिसकेको छ भने सात जना अझै बेपत्ता छन्।

बिहीबार क्याम्प–२ बाट क्याम्प–३ तर्फ करिब ६,६०० मिटर उचाइमा आरोहण गर्ने क्रममा आएको शक्तिशाली हिमपहिरोले १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीलाई करिब एक हजार मिटर तल बगाएको थियो। प्रारम्भिक चरणमा सञ्चार समन्वयको अभावका कारण हताहतीको संख्याबारे अन्योल देखिए पनि पछिल्लो सरकारी विवरणले हालसम्म चार जनाको मृत्यु भएको पुष्टि गरेको हो।

उद्धार टोलीले आधार शिविरबाट पैदल मार्ग हुँदै क्याम्प–२ पुगेपछि घटनास्थलबाट शव संकलन गरेको थियो। आधिकारिक रूपमा पहिचान भएका मृतकमध्ये ओमानकी आरोही नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका अनुभवी पर्वतारोहण गाइड पुरबहादुर गुरुङ (युक्त) र अमेरिकी महिला आरोही म्यालोरी गीस रहेका छन्। चौथो मृतकको पहिचान भने अझै खुलाइएको छैन। पहिचान भएका तीन जनाको शव पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत सैनिक अस्पताल पठाइएको छ।

हिमपहिरोमा परेका टोलीका बाँकी सात सदस्य अझै सम्पर्कविहीन छन्। बेपत्तामध्ये एलाइट एक्सपेड अभियानका नेता तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ पनि रहेका छन्। भू–उपग्रह ट्र्याकिङ उपकरणको विवरणअनुसार हिमपहिरो गएको समयमा उनको उपकरण ६,६५९ मिटरबाट एकाएक तल झरेको देखिएको थियो। त्यसपछि केही प्राविधिक संकेत प्राप्त भएकाले उनी जीवित हुन सक्ने सम्भावनाबारे उद्धार टोलीले आशा कायम राखेको जनाएको छ।

निर्मल पुर्जासँगै चीनका वाङ झोङ, पाकिस्तानका स्थानीय गाइड सोहेल साखी तथा नेपालका किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा पनि बेपत्ता छन्।

निर्मल पुर्जा यसपटक पूरक अक्सिजनबिना विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल दुई पटक आरोहण गर्ने ऐतिहासिक कीर्तिमान बनाउने अभियानका क्रममा काराकोरम क्षेत्रमा पुगेका थिए।

यसैबीच, प्रख्यात पाकिस्तानी पर्वतारोही सिरबाज खानको नेतृत्वमा खटिएको नागरिक उद्धार टोलीले ड्रोनमार्फत उच्च हिमाली क्षेत्रमा हिउँमुनि अन्य केही शव देखिएको जानकारी दिएको छ। तर प्रतिकूल मौसमका कारण ती शवको पहिचान र उद्धार कार्य अझै हुन सकेको छैन।

गिल्गट–बाल्टिस्तानका मुख्यमन्त्री अमजद हुसैन आजर र स्थानीय प्रशासनका अनुसार खराब मौसम तथा न्यून दृश्यताका कारण शुक्रबार साँझ हवाई तथा स्थलगत उद्धार अभियान स्थगित गरिएको छ। मौसममा सुधार आएपछि शनिबार बिहानदेखि पाकिस्तानी सेनाको एभिएसन हेलिकप्टर, थप उद्धारकर्ता शेर्पा र विशेष उपकरणसहित खोजी अभियानलाई पुनः तीव्र बनाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij