काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मुलुकका विभिन्न स्थानमा पछिल्लो समयमा देखिएका सामाजिक तनाव तथा अशान्तिका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शान्ति, संयमता, आपसी सद्भाव र सामाजिक एकतालाई कायम राख्न हार्दिक अपिल गर्दछ ।
नेपाल विविध भाषा, धर्म, संस्कृति र समुदायबीचको आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वका कारण विश्वमै परिचित राष्ट्र हो । यही विशेषतालाई अक्षुण्ण राख्दै कुनै पनि प्रकारका असहमति, विवाद वा असन्तुष्टिलाई संवाद, वार्ता र संवैधानिक तथा कानुनी प्रक्रियाबाट समाधान गर्नु नै लोकतान्त्रिक समाजको सर्वोत्तम अभ्यास हो भन्ने विश्वास इप्पान व्यक्त गर्दछ ।
ऊर्जा क्षेत्र मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार हो । विद्युत आयोजना निर्माणका क्रममा निजी क्षेत्रले देशका हिमाल, पहाड र तराईका विभिन्न भूभागमा स्थानीय समुदाय, विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका नागरिकहरूसँग सहकार्य गर्दै लगानी, रोजगारी, पूर्वाधार विकास तथा स्थानीय आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्दै आएको छ । कुनै पनि आयोजना सफल हुन शान्ति, सामाजिक सद्भाव, आपसी विश्वास र सुरक्षित लगानी वातावरण अपरिहार्य हुन्छ । जहाँ शान्ति र स्थिरता कायम हुन्छ, त्यहाँ मात्र दीर्घकालीन लगानी आकर्षित हुन्छ, आयोजना समयमै सम्पन्न हुन्छन्, स्थानीय रोजगारी बढ्छ र राष्ट्रको आर्थिक विकासले गति लिन्छ ।
यस विपरीत सामाजिक अशान्ति, हिंसा, तोडफोड, बन्द, अवरोध तथा असुरक्षाको वातावरणले आयोजना निर्माणमा प्रत्यक्ष असर पार्नुका साथै लगानीकर्ताको मनोबल कमजोर बनाउने, उत्पादन लागत वृद्धि गराउने, निर्माण अवधि लम्ब्याउने र समग्र आर्थिक गतिविधिलाई प्रभावित गर्ने अवस्था सिर्जना हुन्छ । यसबाट स्थानीय समुदाय, उद्योग–व्यवसाय, श्रमिक तथा समग्र राष्ट्रिय अर्थतन्त्र नै प्रभावित हुने भएकाले शान्ति र सामाजिक सद्भावको संरक्षण सबै पक्षको साझा दायित्व हो ।
हाल मुलुकको अर्थतन्त्रलाई थप गति दिन निजी तथा सार्वजनिक लगानी विस्तार, रोजगारी सिर्जनासहित ऊर्जा उत्पादन वृद्धि तथा औद्योगिक विकास अत्यन्त आवश्यक भएकोले इप्पान नेपाल सरकार, सम्बन्धित निकाय तथा सबै सरोकारवालासमक्ष उद्योग–व्यवसाय, विद्युत आयोजना तथा अन्य विकास पूर्वाधारको सुरक्षाको प्रभावकारी व्यवस्था गर्न तथा शान्ति, कानुनी शासन र सामाजिक सद्भाव कायम राख्न आवश्यक पहललाई थप सुदृढ बनाउन अनुरोध गर्दछ ।साथै, सामाजिक, धार्मिक तथा सामुदायिक सद्भाव अभिवृद्धि गर्न नागरिक समाज, निजी क्षेत्र, स्थानीय समुदाय, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूबीच सहकार्य, संवाद र सकारात्मक जनचेतनामूलक गतिविधि सञ्चालन गरी राष्ट्रिय एकता र विकासको साझा अभियानलाई सशक्त बनाउन पनि इप्पान सबैमा हार्दिक आह्वान गर्दछ ।
शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरण नै ऊर्जा विकास, लगानी प्रवद्र्धन, दिगो आर्थिक समृद्धि तथा समुन्नत नेपालको आधार हो भन्नेमा इप्पानको दृढ विश्वास छ । त्यसैले सबै नेपालीले आपसी सम्मान, सहिष्णुता र एकताको भावनालाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको अभियानमा हातेमालो गर्नेछन् भन्ने अपेक्षा इप्पानले गरेको छ ।