२०८३ साउन ८ शुक्रबार

अपर तामाकोशीको आम्दानी ७ अर्ब ७१ करोड नाघ्यो, विद्युत् बिक्री आम्दानीमा उल्लेख्य वृद्धि

ई आर्थिक    बिहिबार, साउन ७ २०८३
380
Shares
अपर तामाकोशीको आम्दानी ७ अर्ब ७१ करोड नाघ्यो,  विद्युत् बिक्री आम्दानीमा उल्लेख्य वृद्धि

काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले अघिल्लो वर्षको तुलनामा वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखाएको हो।

विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले २८ करोड ६७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो। विद्युत् उत्पादन तथा बिक्रीबाट प्राप्त आम्दानी बढेकाले सञ्चालन नाफामा सुधार आउँदा कम्पनी नाफामा फर्किन सफल भएको जनाएको छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ७ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब २७ करोड ८ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको सञ्चालन नाफा पनि १ अर्ब १ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने सेयर प्रिमियम खातामा ८७ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

यद्यपि, विगतका सञ्चित नोक्सानीका कारण कम्पनीको जगेडा कोष अझै १२ अर्ब १६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। कम्पनीको दीर्घकालीन ऋण ६७ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ८१ अर्ब ३२ करोड १ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

नाफामा सुधारसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ८१ पैसा पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ईपीएस ९ रुपैयाँ ७६ पैसा ऋणात्मक रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ४६ रुपैयाँ ६९ पैसा कायम भएको छ।

धितोपत्र बजारमा समीक्षा अवधिभर कम्पनीको सेयर न्यूनतम १७३ रुपैयाँ ५० पैसा देखि अधिकतम २५२ रुपैयाँ १० पैसा सम्म कारोबार भएको थियो। समीक्षा अवधिको अन्त्यमा कम्पनीको सेयर मूल्य २२५ रुपैयाँ कायम रहेको तथा ५३ हजार ६३९ वटा कारोबारमार्फत सेयर किनबेच भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij