म्याग्दीको स्वाँरा फाँटमा सिँचाइ योजना सुरु, ३० हेक्टर जमिनमा सुविधा विस्तार हुने
ई आर्थिक
बिहिबार, साउन ७ २०८३
361
Shares
म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित लेकगाउँको स्वाँरा फाँटमा बहुप्रतीक्षित सिँचाइ योजना सुरु भएको छ। करिब साढे तीन किलोमिटर टाढाको कालोखोलाबाट पाइपलाइनमार्फत पानी ल्याएर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले योजना कार्यान्वयनमा ल्याइएको हो।
नारच्याङको प्रमुख अन्न उत्पादन क्षेत्रका रूपमा परिचित स्वाँरा फाँटमा वर्षौंदेखि सिँचाइ अभावका कारण किसानले खेती गर्न कठिनाइ भोग्दै आएका थिए। योजना सुरु भएसँगै स्थानीय किसान उत्साहित भएका छन्।
गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा स्रोत सुनिश्चित गरेपछि खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले ठेक्का प्रक्रियामार्फत योजना कार्यान्वयन थालेको हो।
दुई करोड ३ लाख ४६ हजार ९८० रुपैयाँ लागत अनुमान गरिएको योजनाको निर्माण कार्य एक करोड ८५ लाख २९ हजार १६२ रुपैयाँमा कोन्डा कन्स्ट्रक्सन, ललितपुरले गर्नेछ। गत असार ५ गते ठेक्का सम्झौता भएको उक्त योजना २०८४ जेठ २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
डिभिजन कार्यालयका इन्जिनियर विश्वासकुमार बस्नेतका अनुसार योजना सम्पन्न भएपछि स्वाँरा फाँटको ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ। योजनाअन्तर्गत मुहानमा इन्टेक निर्माण, चार वटा ब्रेक प्रेसर ट्याङ्की (बीपीटी), तीन हजार २१० मिटर एचडीपीई पाइपलाइन, ९२ मिटर लामो केबल क्रसिङ, ८० मिटर जीआई पाइपलाइन, वितरण चेम्बर, एक हजार २४५ मिटर नहर तथा ३१२ मिटर अतिरिक्त पाइपलाइन निर्माण गरिनेछ।
निर्माण कम्पनीलाई मोबिलाइजेसन बापत १६ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिसकिएको र वर्षायाम सकिएलगत्तै निर्माण कार्य तीव्र रूपमा अघि बढाइने इन्जिनियर बस्नेतले जानकारी दिए। निर्धारित समयमै योजना सम्पन्न गराउन नियमित अनुगमन गरिने पनि उनले बताए।
डिभिजन कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाका अनुसार दुई हजार मिटरभन्दा बढी उचाइमा रहेको स्वाँरा फाँटमा लामो समयदेखि सिँचाइ सुविधा नहुँदा किसान समस्यामा परेकाले स्थानीय मागका आधारमा योजना प्राथमिकतामा राखिएको हो।
वडा सदस्य श्याम पुर्जाले करिब दुई दशकदेखिको नारच्याङवासीको सपना अब पूरा हुन लागेको बताए। उनका अनुसार स्वाँरा फाँट गाउँको प्रमुख अन्नभण्डार हो, जहाँ आलु, मकै, कोदो, गहुँ, जौ, फापर, प्याजलगायतका बाली उत्पादन हुन्छन्। सिँचाइ अभावका कारण धेरै किसानले खेती छाड्न थालेका भए पनि योजना सम्पन्न भएपछि व्यावसायिक कृषि विस्तार भई स्थानीयको आयआर्जनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
करिब ६ सय रोपनी क्षेत्रफलमा फैलिएको स्वाँरा फाँटमा पर्याप्त सिँचाइ सुविधा पुगेपछि कृषि उत्पादन बढ्ने र बाँझो बन्दै गएको खेतीयोग्य जमिन पुनः उपयोगमा आउने विश्वास स्थानीयवासीले गरेका छन्।