२०८३ साउन १२ मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला सार्वजनिक: बालकृष्ण खाँण ‘मतियार’ ठहर, रायमाझीसहित ९ जना मुख्य दोषी

ई आर्थिक    बुधबार, असार २४ २०८३
494
Shares
नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला सार्वजनिक: बालकृष्ण खाँण ‘मतियार’ ठहर, रायमाझीसहित ९ जना मुख्य दोषी

७ जनाले पाए पूर्ण सफाइ, ८ फरार प्रतिवादीको मुद्दा मुलतवी; सजाय निर्धारणका लागि असार २९ गते सुनुवाइ

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको विस्तृत फैसला सार्वजनिक गर्दै दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आगामी असार २९ गते सुनुवाइ तोकेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सुनाएको फैसलाको संक्षिप्त आदेशमा प्रतिवादीहरूको भूमिका र कसुरको प्रकृतिअनुसार वर्गीकरण गरिएको छ। अदालतले मुख्य योजनाकारहरूलाई संगठित अपराध, ठगी र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ भने केहीलाई ‘मतियार’ (सहयोगी) को भूमिकामा दोषी ठहर गरेको छ।

बालकृष्ण खाँण ‘मतियार’, रायमाझीसहित ९ जना मुख्य दोषी

अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नीतिगत निर्णयमा देखिएको त्रुटि र अनधिकृत संवादका आधारमा संगठित ठगी तथा संगठित अपराधमा ‘मतियार’ ठहर गरेको छ।

मुख्य कसुरदारका रूपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरीआङटावा शेर्पालाई संगठित ठगी, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गरिएको छ।

सरकारी लिखत किर्तेमा अधिकांशले पाए सफाइ

सरकारी लिखत किर्तेसम्बन्धी अभियोगमा भने अधिकांश प्रतिवादीले सफाइ पाएका छन्। अदालतले शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलालसानु भण्डारीलाई मात्रै सरकारी लिखत किर्ते कसुरमा दोषी ठहर गरेको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अन्य प्रतिवादी भने यस अभियोगबाट सफाइ पाएका छन्।

बेचन झा ठगी उद्योगमा मात्रै दोषी

अर्का चर्चित प्रतिवादी बेचन झालाई अदालतले संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरबाट सफाइ दिएको छ। तर, ठगी गर्ने उद्योग (प्रयास) गरेको कसुरमा भने दोषी ठहर गरेको छ।

यस्तै, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जननिरञ्जनकुमार खरेललाई ठगी तथा संगठित अपराधमा ‘मतियार’ का रूपमा दोषी ठहर गरिएको छ।

७ जनाले पाए पूर्ण सफाइ

अदालतले ३० प्रतिवादीमध्ये ७ जनालाई सबै अभियोगबाट पूर्ण रूपमा सफाइ दिएको छ। सफाइ पाउनेहरूमा सन्दीप रायमाझी, प्रतीक थापा, रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधरआशिष बुढाथोकी रहेका छन्।

फैसलाअनुसार सन्दीप रायमाझीको नाममा रहेको लियोन ट्रेडरमार्फत भएको आर्थिक कारोबार व्यापारिक प्रकृतिको देखिएको र प्रतीक थापाविरुद्ध प्रस्तुत प्रमाण पर्याप्त पुष्टि हुन नसकेपछि उनीहरूलाई सफाइ दिइएको हो।

८ फरार प्रतिवादीको मुद्दा मुलतवी

लामो समयदेखि फरार रहेका अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता साउदेन लिम्बुसुनिल बुढाथोकीको हकमा अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९८ बमोजिम मुद्दा मुलतवीमा राख्ने आदेश दिएको छ।

दोषी ठहर भएका प्रतिवादीहरूको कसुरको गम्भीरता, भूमिका र संलग्नताको आधारमा सजाय निर्धारण गर्न असार २९ गते विशेष सुनुवाइ हुने अदालतले जनाएको छ। सोअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीलाई सजाय निर्धारणसम्बन्धी प्रतिवेदन पेस गर्न अदालतले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij