२०८३ साउन ९ शनिबार

देशभर १८ अस्पतालमा जलन उपचार सेवा विस्तार, विशेष युनिट सञ्चालनमा

ई आर्थिक    मंगलबार, असार ९ २०८३
1K
Shares
देशभर १८ अस्पतालमा जलन उपचार सेवा विस्तार, विशेष युनिट सञ्चालनमा

काठमाडौं । सरकारले जलन उपचारलाई सहज, प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा विशेष सेवा विस्तार थालेको छ। सरकारको १०० दिने कार्ययोजनाअन्तर्गत हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा ल्याइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार जलनका बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन १०९ जना स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ। यसबाट सर्वसाधारणले आफ्नै क्षेत्र नजिकका अस्पतालबाट प्रारम्भिक तथा आवश्यक जलन उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जलनका बिरामीलाई प्लास्टिक सर्जरी लगायत अन्य जटिल उपचारसमेत आवश्यक पर्न सक्ने भएकाले छुट्टै अस्पताल स्थापना गर्नुको सट्टा सुविधा सम्पन्न अस्पतालमै विशेष युनिट सञ्चालन गर्नु बढी प्रभावकारी हुने निष्कर्षका आधारमा सेवा विस्तार गरिएको हो।

हाल कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले आगामी दिनमा पनि जलन उपचार सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै देशभरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij