२०८३ साउन १२ मंगलबार

जनगुनासो समाधानमा ऊर्जा मन्त्रालय सक्रिय, हटलाइन ११५१ मार्फत तत्काल सम्बोधन

ई आर्थिक    सोमबार, जेष्ठ ४ २०८३
1.5K
Shares
जनगुनासो समाधानमा ऊर्जा मन्त्रालय सक्रिय, हटलाइन ११५१ मार्फत तत्काल सम्बोधन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनगुनासो सुन्ने मात्र नभई त्यसलाई तत्काल समाधानसम्म पुर्‍याउने अभ्यासलाई तीव्रता दिएको जनाएको छ । मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेपछि मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने अभियान अघि बढाएको हो ।

मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई २४सै घण्टा सञ्चालन हुने गरी थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।

अब उक्त हटलाइन केवल गुनासो दर्ता गर्ने माध्यममा सीमित नरही समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको बताइएको छ । फोन, ह्वाट्स एप, इमेल तथा हेलो सरकारमार्फत प्राप्त गुनासोलाई सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समाधान गर्ने प्रणाली लागू गरिएको मन्त्रालयको भनाइ छ ।

मन्त्री श्रेष्ठको सचिवालयले नियमित प्रशासनिक प्रक्रियाभन्दा फरक ढंगले जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ । प्रमुख स्वकीय सचिव सञ्जिव महर्जन र स्वकीय सचिव राजा शाक्यले सम्बन्धित निकायसँग समन्वय गरी गुनासो समाधानमा प्रत्यक्ष रूपमा काम गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार चैत १५ गतेयता हटलाइन तथा अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । चैत १५ देखि ३० गतेसम्म फोनमार्फत ४ हजार २४८, ह्वाट्स एपबाट १४, इमेलबाट २ तथा हेलो सरकारमार्फत ५ वटा गुनासो दर्ता भएका थिए । वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्स एपबाट ९२ तथा इमेलबाट १० वटा उजुरी प्राप्त भएका छन् । यसबाहेक लिखित रूपमा आएका दुई सयभन्दा बढी निवेदन तथा सञ्चार माध्यममा प्रकाशित जनसरोकारका विषयलाई समेत मन्त्रालयले निगरानीमा राखेको जनाएको छ ।

प्राप्त अधिकांश गुनासो विद्युत् सेवासँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ । विद्युत् लाइन अवरुद्ध हुने, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, प्रसारण लाइन क्षति, पोल स्थानान्तरण, मिटर जडान, ईभी चार्जिङ तथा सिँचाइसम्बन्धी समस्यालगायत विषय प्रमुख रूपमा उठेका छन् ।

बाँकेको चिसापानी क्षेत्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अन्तर्गत दुई वटा टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको घटनामा मन्त्रालयले तत्काल समन्वय गरी सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ । त्यसैगरी चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा स्याङ्जाको वालिङ र भीरकोट क्षेत्रमा अवरुद्ध विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

काठमाडौंको स्वयम्भु क्षेत्रमा वर्षौंदेखि सडकको बीचमा रहेका विद्युत् पोल स्थानान्तरणको विषयसमेत जनगुनासोमार्फत मन्त्रालयमा पुगेपछि स्थानीय तह, विद्युत् प्राधिकरण र सम्बन्धित निकायबीच समन्वय गरी समाधान गरिएको सचिवालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयले पछिल्लो समय अवलम्बन गरेको यो कार्यशैलीले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने तथा सेवाग्राहीमा भरोसा बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij