सुनसरी : सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित ‘रासा ताल’ पर्यटन परियोजना पूर्वी नेपालको आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बन्ने अपेक्षासहित अगाडि बढिरहेको छ। करिब ५ हेक्टर क्षेत्रफलमा संरचना निर्माण हुने यस परियोजना अहिले परियोजना विकास सम्झौता (PDA) को अन्तिम तयारीमा पुगेको छ।
३५ बर्षलाई लिजमा लिएर निर्माण गर्न लागिएको यो परियोजना रामधुनी नगरपालिकाद्वारा प्रवर्द्धित हो । उक्त परियोजनामा करिब दुई अर्ब रुपैयाँसम्म लगानीको सम्भावना रहेको छ । पब्लिक प्राईभेट पार्टनरशीप (पीपीपी) अवधारणा अनुसार परियोजना सञ्चालन हुनेछ । अर्बन एक्सप्लोरर प्रा.लि., विराटनगर मूख्य लगानीकर्ता रहेको यस परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भई लगानी प्राधिकरणमा पेश भइसकेको छ । उक्त डीपीआरको मूल्यांकन अन्तिम चरणमा रहेको प्रदेश लगानी प्राधिकरण कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेश लगानी प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार मूल्यांकन प्रतिवेदन केही दिनमै आउने र करिब दुई हप्ताभित्र पीडीए प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ।

कोशी प्रदेश लगानी सम्मेलनमा ‘शो–केस’ गरिएको र लगानी सम्झौता सम्पन्न भइसकेका उत्कृष्ट पर्यटन परियोजनामध्ये रासा ताल परियोजना पनि एक रहेको उनको भनाई छ।
लगानीको दृष्टिले सम्भावनायुक्त यस परियोजनाले पूर्वी क्षेत्रको पर्यटन र अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ।
रामधुनी क्षेत्र धार्मिक र ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। करिब ६४ बिघा क्षेत्रफलमा फैलिएको यो क्षेत्र शान्त, रमणीय र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। परियोजना पूर्ण रूपमा निर्माण सुरु नभइसके पनि दैनिक ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन्।
निर्माण कम्पनीले यस क्षेत्रलाई पूर्वकै प्रमुख पर्यटन गन्तव्य बनाउने लक्ष्य राखेको छ। ‘रासा ताल’ क्षेत्रमा आधुनिक पर्यटन पूर्वाधार निर्माण, वेडिङ डेस्टिनेशन हबको रुपमा विकास गरिने, चलचित्र छायांकन स्थलको लागि उपयुक्त हुने तथा अर्गानिक कृषि फार्म सञ्चालन गर्ने योजना रहेको बुझिएको छ।

धरान र इटहरीबाट करिब १५ किलोमिटर दूरीमा तथा प्रसिद्ध धार्मीक पर्यटकीय क्षेत्र बराह क्षेत्रबाट १६ किलोमिटर पूर्वमा रहेको यो स्थान धार्मिक पर्यटनका लागि पनि उपयुक्त मानिन्छ। स्थानीय जनविश्वासअनुसार भगवान् रामले तपस्या गरेको स्थलका रूपमा समेत यसको ऐतिहासिक महत्व रहेको छ।
परियोजना सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरको पर्यटन अनुभव दिने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै, यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, युवालाई स्वदेशमै अवसर उपलब्ध गराएर विदेश जान रोक्ने र प्रदेश नं. १ को आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ।
अर्बान एक्सप्लोरर प्रा.लि.ले परियोजना निर्माण कार्य सुरु गर्ने अन्तिम तयारी गरिरहेको बुझिएको छ ।