काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावित नागरिकको तत्काल व्यवस्थापनसँगै सडक तथा यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै बाढीप्रभावित क्षेत्रको जनजीवन सहज बनाउन तत्कालीन तथा दीर्घकालीन योजना प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका हुन्।
उनले भौगोलिक विकटतालाई ध्यानमा राख्दै सडक तथा यातायात सञ्चालनका लागि देशको क्षमताले मात्र नपुगे ठूला बेलिब्रिजलगायत आवश्यक पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन सुझाव दिए।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने विषयमा पनि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा आवाज उठाउनुपर्ने बताए।

बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा आफूले पीडितको अवस्था तथा बाढीबाट भएको क्षति प्रत्यक्ष देखेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रभावित नागरिकको बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।
त्यस्तै, बाढीपीडितको बसोबासका लागि सञ्चालन भइरहेका होल्डिङ सेन्टरको व्यवस्थापन तथा अस्थायी आवास निर्माणको कामलाई पनि तीव्रता दिन उनले आग्रह गरे।
छलफलका क्रममा मन्त्रीहरूले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए। उनीहरूका अनुसार बाढी प्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा अर्थात् ‘क्याप्सुल होम’ निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइएको छ।
सरकारले वैकल्पिक सडक निर्माणलाई समेत प्राथमिकताका साथ अघि बढाएको र लामो स्पानका बेलिब्रिजका लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकेको जानकारी मन्त्रीहरूले दिएका थिए। आवश्यक सामग्री आउने क्रममा रहेको र पुनर्निर्माण तथा पुनःस्थापनाका अन्य आवश्यक योजना पनि सरकारले अघि बढाएको उनीहरूले बताएका थिए।
परराष्ट्रमन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलको पनि सहभागिता रहेको थियो।