काठमाडौं । रसुवामा आएको बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा यस्तो जानकारी दिनुभएको हो।
रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे भएको छलफलमा मन्त्री पौडेलले पर्यटन व्यवसाय, भौतिक पूर्वाधारमा भएको क्षति तथा आगामी दिनमा पर्न सक्ने आर्थिक असरलाई समेत आधार मानेर ५० अर्बभन्दा बढीको प्रारम्भिक क्षति अनुमान गरिएको बताउनुभयो।
१४२ होटल र ५७ रेस्टुरेन्टमा क्षति
मन्त्री पौडेलका अनुसार बाढीपहिरोका कारण रसुवा क्षेत्रमा १४२ वटा होटल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधनमा क्षति पुगेको छ।
बाढीले क्षेत्रका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा समेत क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो।
प्रमुख पदमार्गमा क्षति, वैकल्पिक बाटो खोजिँदै
बाढीपहिरोका कारण लामटाङ, गोसाइँकुण्ड, पार्वती कुण्ड र नाथली पदमार्गमा समेत क्षति पुगेको छ।
यी पदमार्ग क्षतिग्रस्त भएपछि पर्यटकको आवागमन सहज बनाउन वैकल्पिक बाटोको खोजी गर्नुपर्ने अवस्था आएको मन्त्री पौडेलले बताउनुभयो।
प्रभावित क्षेत्रलाई ‘क्लाइमेट हेरिटेज’ बनाउने योजना
मन्त्री पौडेलले बाढीबाट प्रभावित क्षेत्रलाई मन्त्रालयमार्फत ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो।
यसअन्तर्गत प्रभावित क्षेत्रमा संग्रहालय, स्मारक, पार्क वा अन्य आवश्यक संरचना निर्माण गर्ने विषयमा सरोकारवालासँग छलफल गरी निर्णय गरिने उहाँको भनाइ छ।
‘नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्दैछन्’
जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति सामना गर्नुपरेको मन्त्री पौडेलले बताउनुभयो।
उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने नेपाल र नेपालीले गम्भीर रूपमा भोग्नुपरेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का कारण पर्यटनसहित विभिन्न क्षेत्रमा ठूलो क्षति भइरहेको उहाँको भनाइ थियो।