काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिका साथै खोज, उद्धार, राहत वितरण र घाइतेको उपचारलगायत विषयमा जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्। छलफलका क्रममा बाढीपछिको समग्र अवस्था, सुरक्षा निकायबाट भइरहेको खोज तथा उद्धार र राहतसम्बन्धी कामबारे प्रधानसेनापतिबाट ब्रिफिङ लिने तथा आवश्यक निर्देशन दिने तयारी रहेको छ।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावितको उद्धार, राहत र उपचारलाई थप प्रभावकारी बनाउने विषयमा सुरक्षा निकायबीचको समन्वयबारे पनि छलफल हुने बताइएको छ।