गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा पछिल्लो तीन महिनादेखि नियमित हवाई उडान ठप्प भएको छ। गत जेठ २४ गते अन्तिम उडान भएयता मौसम प्रतिकूलताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो।
स्टेशन प्रमुख थापाका अनुसार विशेषगरी असार र साउनमा मौसम प्रतिकूल हुँदा यहाँ उडान प्रभावित हुने गरेको छ। वर्षायाममा बिहानै बाक्लो बादल र हुस्सु लाग्नुका साथै मौसम खराब हुँदा विमानस्थलमा उडान अवरुद्ध हुने गरेको उहाँले बताउनुभयो। भदौ महिनामा समेत मौसममा सुधार नआएपछि उडान नियमित हुन सकेको छैन।
रेसुङ्गा विमानस्थलमा यात्रुको चापलाई ध्यानमा राख्दै यसअघि सातामा चार दिनसम्म उडान हुने व्यवस्था गरिएको थियो। हाल तालिका समायोजन गरेर आइतबार, बिहीबार र शनिबार गरी सातामा तीन दिन उडान हुने व्यवस्था छ।
निर्धारित तालिकाअनुसार काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान हुने गरेको थियो। रेसुङ्गा विमानस्थल गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने प्रमुख हवाई यातायातको माध्यम हो। नियमित उडान सञ्चालन हुँदा पर्यटकसमेत हवाई मार्ग हुँदै गुल्मी आउने गरेका थिए।
तर, पछिल्लो समय हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा बढेपछि यात्रुको चापसमेत घट्दै गएको पाइएको छ। स्थानीयस्तरबाट हवाई भाडा समायोजन गरी घटाउनुपर्ने मागसमेत उठ्न थालेको छ।
यसअघि रेसुङ्गा–काठमाडौँ एकतर्फी भाडा ७ हजार ३०० रुपैयाँ र काठमाडौँ–रेसुङ्गा ७ हजार ५०० रुपैयाँ कायम थियो। हाल भाडा बढेर रेसुङ्गा–काठमाडौँतर्फ १० हजार ५०९ रुपैयाँ ५५ पैसा तथा काठमाडौँ–रेसुङ्गातर्फ १० हजार ७०९ रुपैयाँ ५५ पैसा पुगेको छ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले २०८० वैशाख २९ गतेदेखि नियमित उडान सुरु गरेको थियो। हालसम्म विमानस्थलबाट दुईतर्फी गरी ३६८ वटा उडान सञ्चालन भइसकेका छन्।