२०८३ साउन ९ शनिबार

कर्णाली नदी नियन्त्रण आयोजनाको चालीस प्रतिशत काम पूरा

ई आर्थिक    सोमबार, साउन १६ २०७४
8K
Shares
कर्णाली नदी नियन्त्रण आयोजनाको चालीस प्रतिशत काम पूरा

१६ असार, गुलरिया । कर्णाली नदी नियन्त्रण आयोजना राजापुरका प्रमुख तिलकबहादुर खत्रीले ५ वर्षमा ४३ किलोमिटर तटबन्ध निर्माण गरी राजापुर क्षेत्रका स्थानीयवासीलाई नदी कटान र डुबानबाट जोगाउने लक्ष्य लिएको कर्णाली नदी व्यवस्थापन आयोजना अन्तर्गत हालसम्म १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएको बताउनुभयो ।

आयोजना प्रमुख खत्रीले रु २७ करोडको लगानीमा हालसम्म १८ किलोमिटर तटबन्ध निर्माणको टेन्डर भएकामा १२ किलोमिटर तटबन्ध निर्माण कार्य पूरा भएका जानकारी दिनुभयो । कर्णाली नदी नियन्त्रण आयोजनाका लागि अर्थ मन्त्रालयबाट वार्षिक रु दुई अर्ब रुपैयाँ उपलब्ध गराउने भनिए पनि बर्षेनी रु ३० करोड जति मात्र रकम आउने गरेकाले लक्ष्यअनुरुप आयोजनाले गति लिन नसकेको बताइएको छ ।

आयोजना प्रमुख खत्रीका अनुसार वार्षिक रु ६० करोड जति रकम अर्थ मन्त्रालयबाट निकासा भए अझै प्रभावकारी र सशक्त रुपमा आयोजनाले गति लिनेछ । २०७१ सालदेखि शुरु भएको कर्णाली नदी व्यवस्थापन आयोजनाले तीन वर्षमा ४० प्रतिशत काम पूरा गरेको बताउँदै आयोजना प्रमुख खत्रीले अब बाँकी २ वर्षमा ६० प्रतिशत काम सम्पन्न हुन गाह्रो रहेको उल्लेख गर्नुभयो ।

कर्णाली नदी नियन्त्रण आयोजना अन्तर्गत कर्णाली नदीको बाढी आउन सक्ने सम्भावित क्षेत्र गेरुवा गाउँपालिकाको वनघुस्रा, सनकट्टी र गुप्तीपुर तथा राजापुर नगरपालिकाको टिहुनी, नङ्गापुर, अनन्तपुर, सत्ती घाट र तिघ्रामा गरी १२ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।

पाँच वर्षीय गुरुयोजनाअनुसार रु ११ अर्ब लागतमा ४३ किलोमिटर स्थायी तटबन्ध निर्माण गरी वैज्ञानिक ढंगबाट गेरुवा र कर्णाली नदीलाई नियन्त्रण गर्ने कर्णाली नदी नियन्त्रण आयोजनाले बर्षेनी हुने भौतिक तथा मानवीय क्षति हटाई नदी कटान र डुबानको चपेटाबाट राजापुर क्षेत्रका बासिन्दामाथि पर्दै आएको प्राकृतिक प्रकोपको क्षति कम गरिरहेको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर बरुणकुमार कर्णले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij