ई–आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वीरगञ्ज नाका हुँदै २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ बराबरका वस्तु तथा सामग्री आयात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो। यस अनुसार यस वर्ष आयात रकममा ४३ अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष यस नाकाबाट आयातमा मात्रै नभई राजस्व संकलनमा समेत १८ प्रतिशत वृद्धि भएको छ।
उनका अनुसार गत आर्थिक वर्षको चार महिनामा ६६ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन भएकाेमा यस वर्ष सोही अवधिमा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।
कार्यालयका तथ्यांक अनुसार चार महिनामा वीरगञ्ज नाकाबाट ५४ अर्ब १२ करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन्। त्यस्तै २५ अर्ब ५२ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु र १९ अर्ब ५४ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन्।
यस्तै, चार महिनाको अवधिमा १८ अर्ब ३१ करोड रुपैयाँ मूल्य बराबरको भटमासको कच्चा तेल, १६ अर्ब ४ करोडको विद्युत् उपकरण तथा पार्टपुर्जा र १५ अर्ब ४३ करोड रुपैयाँ बराबरको मलखाद आयात भएको भन्सार कार्यालयले जनाएको छ।