दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षका पहिलो चार महिनामा ७२ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८०.२५ प्रतिशत मात्र हो। यस अवधि लागि ८९ करोड ९१ लाख लक्ष्य निर्धारण गरिएको थियो। गत वर्ष यही अवधिमा ७० करोड ३८ लाख संकलन भएको थियो।
कार्यालयका अनुसार आयकर विवरण नपुग्नु, जेन–जी आन्दोलनका कारण कार्यालय भवन र सेवामा परेको क्षति, मालपोत गतिविधि ठप्प हुँदा पुँजीगत लाभकर घट्नु, ब्याजदर कमी भएपछि ब्याज कर घट्नुजस्ता कारणले लक्ष्यअनुसार राजस्व संकलन गर्न कठिनाइ भयो।
गत आर्थिक वर्षमा ३ अर्ब १४ करोड लक्ष्य रहेकामा २ अर्ब ९४ करोड राजस्व संकलन भएको र यो अघिल्लो वर्षभन्दा करिब ५४ करोड बढी रहेको कार्यालयले जनाएको छ।
चालु वर्षको बाँकी अवधिमा करदाता शिक्षा, स्वेच्छिक कर सहभागिता वृद्धि, कर छली नियन्त्रण तथा बक्यौता असुलीमा जोड दिने कार्यालयको योजना छ। आर्थिक ऐन २०८२ अनुसार कर विवरण तथा बक्यौता कर भुक्तानीमा विभिन्न छुट घोषणा गरिएको छ, जसको अवधि पुस मसान्तसम्म सीमित छ।
हाल कार्यालय जलेर नष्ट भएका भवनका कारण त्रिसिद्धेश्वरी मन्दिरको धर्मशालाबाट सेवा प्रदान गरिरहेको छ। अनलाइनमार्फत कर भुक्तानी, विवरण दाखिला र करचुक्ता सेवासमेत उपलब्ध गराइँदै आएको छ।