बर्दिया : बर्दियाको अमन कन्स्ट्रक्सनले चार वर्षसम्म पनि सम्झौताअनुसारका पाँच योजनामा कुनै प्रगति नदेखाएपछि बाँकेको खजुरा गाउँपालिकाले कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। गाउँपालिकामा नयाँ जिम्मेवारी सम्हाल्नुभएका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले पटक–पटक ताकेता गर्दा पनि काम सुरु नगरेपछि कारबाही आवश्यक भएको बताउनु भयो।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै अमन कन्स्ट्रक्सनलाई तत्काल सम्पर्कमा आउन आह्वान गरेको थियो। तर कम्पनीका प्रतिनिधिहरू सम्पर्कमै नआएपछि अब कानुनी कारबाही अघि बढाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार गाउँपालिकाले यसअघि पनि विभिन्न योजनाका ठेकेदारलाई सार्वजनिक सूचना मार्फत बोलाएपछि केही कम्पनी सम्पर्कमा आएर बाँकी काम गर्ने प्रतिबद्धता जनाएका थिए। तर अमन कन्स्ट्रक्सनले प्रतिबद्धता जनाए पनि पुनः सम्पर्कविहीन बनेपछि कारबाही बाहेक विकल्प नरहेको उहाँले बताउनुभयो।
अमन कन्स्ट्रक्सनले खजुराका पाँच महत्वपूर्ण योजनाको काम चार वर्ष बितिसक्दा पनि पूरा गर्न सकेको छैन। ती योजनामा एनआइसी बैंकदेखि मनकामना जाने सडक तथा नाली निर्माण, विभिन्न वडाका बाटो स्तरउन्नती तथा कालोपत्रे लगायतका काम समावेश छन्।
काम अलपत्र पारेका तथा सम्पर्कविहीन ठेकेदारलाई सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको गाउँपालिकाले जनाएको छ। कालोसूचीमा परेपछि ठेकेदारले आगामी कुनै पनि सरकारी ठेक्का लिन नपाउने र बैंक ग्यारेन्टी रकम समेत फिर्ता नपाउने व्यवस्था छ।
अमन कन्स्ट्रक्सनका प्रतिनिधि रमेश यादवका मोबाइल नम्बरमा सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क स्थापित हुन सकेन। ठेकेदारको लापरबाहीका कारण खजुराका विभिन्न स्थानमा सात वटा विकास योजना अलपत्र परेको र स्थानीयवासीले समेत सास्ती भोग्नुपरेको गाउँपालिकाले जनाएको छ।
यसैबीच, गाउँपालिकाको लगातारको ताकेतापछि केही कम्पनीले सम्पर्कमा आएर काम अघि बढाएको पनि अधिकृत पौडेलले जानकारी दिनुभयो। अस्पताल निर्माणको जिम्मा पाएको गौरा–सिस्ने–अमन जेभीले पुनर्निर्माण कार्य पुनः सुरु गरेको बताइएको छ।