काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा जडीबुटीखेती विस्तारको काम तीव्र गतिमा अघि बढेको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न जिल्ला, समूह, सहकारी तथा इच्छुक किसानमार्फत ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको जनाएको छ।
मन्त्रालयका उपसचिव भरत श्रेष्ठका अनुसार सुदूरपश्चिममा पाइने मूल्यवान जडीबुटी संरक्षण र उत्पादन वृद्धि मुख्य प्राथमिकताका रूपमा राखी सरकारले बजेट विनियोजन गर्दै आएको छ। गत आर्थिक वर्षमा सङ्घको शसर्त तर्फबाट दुई करोड ३० लाख र प्रदेश सरकारबाट ६० लाख बजेट छुट्टाएर विस्तार कार्य सम्पन्न गरिएको उनले बताए।
चालु आर्थिक वर्षमा संघीय शसर्ततर्फ एक करोड ८१ लाख र प्रदेश सरकारबाट ५२ लाख बजेट विनियोजन गरी जडीबुटीखेती विस्तारलाई निरन्तरता दिने मन्त्रालयको तयारी छ।
मन्त्रालयले लागू गरेको सुदूरपश्चिम प्रदेश वन नियमावली २०७८ र वन ऐन २०७७ अनुसार प्रदेशभरि रहेका बहुमूल्य जडीबुटीहरूको संरक्षण, सम्वर्द्धन र व्यवस्थापन डिभिजन वन कार्यालयमार्फत हुने व्यवस्था छ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम क्षेत्र जडीबुटी सम्भावनाले भरिपूर्ण रहेको उल्लेख गर्दै यसको दीर्घकालीन संरक्षण तथा व्यवस्थापनको खाका तयार पारिनुपर्ने आवश्यकता औंल्याए। प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने भनिएको लगानी सम्मेलनमा जडीबुटी क्षेत्रको सम्भाव्यता प्रस्तुत गर्ने योजना भए पनि विशेष परिस्थितिका कारण सम्मेलन स्थगित भएको उनले बताए।
उनका अनुसार सुदूरपश्चिममा उत्पादित जडीबुटीको मुख्य बजार भारत र चीन भएकाले व्यापारिक सम्भावना उच्च छ। हाल जडीबुटी जस्ताको तस्तै निर्यात भइरहेको भए पनि केही प्रशोधनपछि बिक्री गर्न सके थप लाभ लिन सकिने उनको धारणा छ। मूल्यवान जडीबुटी चोरी–तस्करी, वन डढेलो र खुला चरिचरन नियन्त्रण गर्न डिभिजन वन कार्यालयको भूमिकालाई समेत सचिवले महत्वपूर्ण बताए।
जडीबुटीको संरक्षण र उद्योग विकासलाई लक्षित गर्दै छुट्टै नीति तथा ऐन निर्माण प्रक्रियाबारे छलफल सुरु भएको मन्त्रालयले जनाएको छ।