काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ दोस्रो संस्करणको गरिमा रोड रेस, २०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता यही मंसिर ६ गते, शनिबारका दिन काठमाडौंको बालुवाटारबाट सुरु हुनेछ।
विकास बैंकले गत वर्षदेखि शुरु गरेको यो प्रतियोगिता यस वर्ष थप आकर्षक र समावेशी बनाइएको छ। प्रतियोगितामा खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र यस वर्ष पहिलोपटक भेट्रान (महिला तथा पुरुष) तर्फ पनि ५ किलोमिटर दूरी तय गर्नुपर्नेछ। गत वर्ष खुला र कर्पोरेट विधामा मात्र प्रतियोगिता आयोजना भएकोमा, यस वर्ष ४५ वर्ष माथिका महिला र ५० वर्ष माथिका पुरुष धावकहरुलाई लक्षित गर्दै भेट्रान विधा थप गरिएको बैंकले जनाएको छ।
करिब १,००० जना धावक सहभागी हुने अपेक्षा गरिएको यस प्रतियोगितामा विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। खुला तर्फ प्रथम हुनेले जनही रु. ५०,०००, द्वितीय हुनेले रु. ३५,०००, तृतीय हुनेले रु. २०,०००, चतुर्थ हुनेले रु. १५,००० र पंचौं हुनेले रु. १०,००० प्राप्त गर्नेछन्।
त्यस्तै, कर्पोरेट र भेट्रान विधामा प्रथम हुनेले जनही रु. ३०,०००, द्वितीय हुनेले रु. २०,०००, तृतीय हुनेले रु. १४,०००, चतुर्थ हुनेले रु. १०,००० र पंचौं हुनेले रु. ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताको खुला तर्फको दौड बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवन पुगेर पुनः सोही बाटो हुँदै बालुवाटारमै समापन हुनेछ। कर्पोरेट र भेट्रान विधाको दौड भने बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः सोही बाटो हुँदै समापन हुनेछ।
प्रतियोगिता सुचारु रूपमा सञ्चालन गर्न बैंकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु. २० शुल्क तिरेर प्रतियोगितामा दर्ता गर्न सक्नेछन्। थप जानकारीका लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ।
गत वर्षको गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० प्रतिस्पर्धी सहभागी भएका थिए। यस वर्षको संस्करणमा झन् बढी सहभागिता हुनेमा विकास बैंकले विश्वास व्यक्त गरेको छ।