२०८३ भाद्र ३१ बुधबार

भोटेकोशीको बाढीबाट पाठ सिकेर जलविद्युत निर्माणको शैली बदल्नुपर्छ : सांसद न्यौपाने

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
285
Shares
भोटेकोशीको बाढीबाट पाठ सिकेर जलविद्युत निर्माणको शैली बदल्नुपर्छ : सांसद न्यौपाने

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य एवं इन्जिनियर श्रीराम न्यौपानेले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पाठ सिकेर नेपालमा जलविद्युत आयोजना निर्माणको शैली परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले प्राकृतिक विपत्तिका कारण जलविद्युत विकासको यात्रा रोक्न नहुने भन्दै जोखिम न्यूनीकरणलाई केन्द्रमा राखेर सुरक्षित र आधुनिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

भोटेकोशी र त्रिशूली नदी आसपास बाढीका कारण ठूलो मानवीय, भौतिक तथा आर्थिक क्षति भएको उल्लेख गर्दै न्यौपानेले निर्माणाधीन तथा निर्माण सम्पन्न जलविद्युत आयोजनासमेत प्रभावित भएको बताएका छन्। उनका अनुसार बाढीको प्रकृति हेर्दा उक्त घटना इन्जिनियरिङ दृष्टिले अत्यन्त चरम तहको बाढीको घटना हुन सक्ने देखिन्छ।

न्यौपानेले नेपालको हिमाली तथा पहाडी भूगोल जलविद्युत उत्पादनका लागि चुनौती भए पनि त्यही भूगोल ठूलो सम्भावना र अवसरसमेत भएको बताए। त्यसैले एउटा प्राकृतिक विपत्तिका कारण जलविद्युत विकासबाट पछि हट्नुभन्दा क्षतिबाट सिकेर अझ सुरक्षित, आधुनिक र दिगो पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ।

उनले सरकारले नेपालको हिमाली तथा पहाडी भूगोलअनुकूल स्पष्ट ‘टनेल कन्स्ट्रक्सन स्ट्यान्डर्ड’ तत्काल बनाउनुपर्ने सुझाव दिएका छन्। सम्भव भएसम्म बाँध र प्रसारण लाइनबाहेक जलविद्युत आयोजनाका अन्य संरचना भूमिगत बनाउनुपर्ने उनको प्रस्ताव छ।

निर्माणाधीन अवस्थामै सुरुङका मुखमा आपतकालीन अवस्थामा बन्द गर्न सकिने बलिया फलामे ढोका राख्नुपर्ने तथा आयोजना सञ्चालनमा आएपछि कुनै पनि सुरुङको मुख खुला छाड्न नहुने उनले बताएका छन्। मुख्य सुरुङबाहेक अन्य सुरुङका प्रवेशद्वार नदीको बहावको विपरीत दिशातर्फ हुने गरी डिजाइन गर्नुपर्ने र भूगोलअनुसार ती सुरुङका प्रवेशद्वारमा ३ देखि ७ प्रतिशतसम्म उकालो कायम गर्नुपर्ने उनको सुझाव छ।

पावरहाउसको माथिल्लो तलाको उचाइ चरम बाढीको अवस्थामा समेत सुरक्षित हुने गरी निर्धारण गर्नुपर्ने भन्दै न्यौपानेले आपतकालीन अवस्थाका लागि खाद्यान्न, खानेपानी, अक्सिजन, ब्याट्री ब्याकअप, तापक्रम व्यवस्थापन, आगलागी नियन्त्रण तथा सुरक्षा उपकरण र आपतकालीन सञ्चार प्रणालीको व्यवस्था अनिवार्य गर्नुपर्ने बताएका छन्।

जलविद्युत आयोजना सञ्चालनमा मानव निर्भरता घटाउँदै अधिकतम रूपमा स्वचालित प्रणाली तथा SCADA प्रविधिमा आधारित बनाउनुपर्ने उनको भनाइ छ। त्यस्तै, बाँधको डिजाइन हिमाली नदीका लागि उपयुक्त ‘Himalayan Intake’ अवधारणाअनुसार गर्नुपर्ने र बाढीले बगाएर ल्याउने लेदो, ढुंगा, बालुवा तथा ठूला चट्टानलाई सुरक्षित रूपमा पार गराउन सक्ने संरचना निर्माण गर्नुपर्ने उनले बताएका छन्।

न्यौपानेले सबै जलविद्युत आयोजनाका लागि एउटै प्रकारको डिजाइन र ड्रइङ उपयुक्त नहुने पनि स्पष्ट पारेका छन्। आयोजना आकार, भौगोलिक अवस्था, नदीको जलाधार तथा जोखिमका आधारमा डिजाइन र ड्रइङमा आवश्यक परिमार्जन गर्नुपर्ने उनको सुझाव छ।

आयोजनाको स्थान तथा प्रत्येक संरचनाको उचाइ निर्धारण गर्दा भविष्यमा आउन सक्ने चरम बाढी तथा अन्य प्राकृतिक जोखिमलाई समेत केन्द्रमा राख्नुपर्ने उनले बताएका छन्।

त्यसैगरी लाइसेन्स, उत्पादन अनुमति, जग्गा प्राप्ति, वातावरणीय स्वीकृति, रुख कटान, विस्फोटक पदार्थ तथा लगानी स्वीकृतिजस्ता प्रक्रियामा हुने अनावश्यक खर्च र ढिलाइ घटाउँदै स्पष्ट समयसीमा तोकेर एकदेखि दुई वर्षभित्र आयोजना निर्माणमा जान सक्ने नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकारसँग उनले माग गरेका छन्।

जलविद्युत विकासमा जलवायु परिवर्तन र वातावरणीय जोखिमलाई बेवास्ता गर्न नहुने भन्दै न्यौपानेले ती जोखिमलाई ध्यानमा राखेरै सुरक्षित पूर्वाधार निर्माण गर्नुपर्ने बताए।

“जलविद्युत आयोजना रोक्ने होइन, निर्माणको शैली मात्र बदल्ने हो,” न्यौपानेले भनेका छन्। उनका अनुसार भोटेकोशीको बाढीले नेपाललाई क्षतिबाट सिकेर प्रविधि सुधार, जोखिम न्यूनीकरण, लगानीको वातावरण सुदृढीकरण र जलस्रोतलाई ऊर्जामा रूपान्तरण गर्ने अभियानलाई थप तीव्र बनाउनुपर्ने सन्देश दिएको छ।

तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्य रहेका न्यौपानेले आफू चिलिमे जलविद्युत आयोजनाको उद्धार स्थलबाट उक्त धारणा सार्वजनिक गरेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij