ई-आर्थिक, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार वृद्धि भइरहेसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा उल्लेखनीय उछाल आएको छ।
नेपालमा मंगलबार सुनको मूल्य तोलामा ४ हजार ९ सय रूपैयाँले बढ्दै प्रतितोला २ लाख ४६ हजार ४ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य तोलामा दुई सय रूपैयाँले बढेको थियो भने सोमबार थप २ हजार ९ सय रूपैयाँले वृद्धि भई २ लाख ४१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धिको क्रम देखिएको छ। सोमबार तोलामा ५० रूपैयाँले बढेको चाँदी मंगलबार पुनः १०५ रूपैयाँले बढ्दै प्रतितोला ३ हजार १७० रूपैयाँमा पुगेको छ।
यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रूपैयाँमा कारोबार भएको थियो। गत असोज ३१ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तर २ लाख ५८ हजार रूपैयाँ पुगेको थियो। सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ३ सय ५० रूपैयाँ पुगेको थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको कमजोरी र मध्यपूर्वमा बढ्दो राजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दै गएको हो।