काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र नेपाल इन्जिनियरिङ परिषद् (नेइपु) बीच इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गराउने उद्देश्यले एक महत्वपूर्ण समझदारीपत्र (सम्झौता) मा आज हस्ताक्षर भएको छ। उक्त समझदारी वासिङ्टन सम्झौता अन्तर्गत नेपालका इन्जिनियरिङ कार्यक्रमलाई अन्तर्राष्ट्रिय मानक अनुसार स्वीकृति दिलाउने दिशामा एक ठोस कदमका रूपमा लिइएको छ।
सम्झौतामा पूविका कुलपति प्रा.डा. बिजु कुमार थपलिया र नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले हस्ताक्षर गर्नुभएको हो। साथै, पूविको इन्जिनियरिङ संकायका डीन प्रा.डा. भोलानाथ शर्मा घिमिरे र परिषद्का रजिष्ट्रार ध्रुवराज भट्टराईले पनि सम्झौताको कार्यान्वयनमा प्रतिवद्धता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो।
यस सम्झौताले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययनरत इन्जिनियरिङ विद्यार्थीहरूलाई वासिङ्टन सम्झौतामा आवद्ध देशहरूबाट प्राप्त प्रमाणपत्रलाई मान्यता दिने बाटो खुलाउनेछ। जसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा शिक्षा, पेशा, तथा अनुसन्धानका अवसरहरूमा प्रतिस्पर्धा गर्न सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
सम्झौताले नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउने मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली इन्जिनियरहरूको पहुँच, पहिचान र स्वीकार्यता बढाउने अपेक्षा गरिएको छ। यस उपलब्धिलाई पूवि र परिषद्का लागि गौरवको विषयका रूपमा लिइएको छ।