२०८३ भाद्र ३१ बुधबार

उद्योग संगठन मोरङद्वारा स्वीस सरकारका तीन परियोजनाबीच प्राविधिक जनशक्ति उत्पादनका लागि सहकार्य

ई आर्थिक    शनिबार, कार्तिक १ २०८२
5.1K
Shares
उद्योग संगठन मोरङद्वारा स्वीस सरकारका तीन परियोजनाबीच प्राविधिक जनशक्ति उत्पादनका लागि सहकार्य

विराटनगर । उद्योग तथा व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन र विकास गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र स्वीस सरकार अन्तर्गत सञ्चालित तीन परियोजना इन्स्योर, एन.भी.क्यू.एस., तथा क्वालिटीबीच सहकार्य हुने भएको छ। आगामी एक वर्षका लागि प्राविधिक शिक्षा तथा तालिमको क्षेत्रमा सहकार्य गर्नेगरी आज तीनवटै परियोजनाहरूसँग सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार तालिम प्रदायक शैक्षिक संस्था र औद्योगिक प्रतिष्ठानहरूको सहकार्यमा औद्योगिक प्रशिक्षार्थी तालिम, उद्योगमा कार्यरत मानव संसाधनका लागि सीप स्तरोन्नति तालिम, मानव स्रोत व्यवस्थापन, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रवर्द्धन, पूर्व सिकाइ मान्यता प्रणाली, सीप उत्सव, बिजनेस एट स्कुल, कार्वन फुटप्रिन्ट एसेस्मेन्ट, तालिम प्रशिक्षकहरूका लागि व्यवहारिक कक्षा लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ।

यसैगरी निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा नेपाल सरकारका सरोकारवाला निकायहरूबीच निरन्तर समन्वय र सहकार्य प्रवर्द्धन गर्दै प्राविधिक जनशक्ति उत्पादनका लागि सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सहकार्यले उद्योगहरूलाई आवश्यक प्राविधिक जनशक्ति विकासमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उनले भने, “उद्योगको वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने दक्ष जनशक्ति उत्पादनका लागि निजी क्षेत्र र विकास साझेदारबीचको सहकार्यले उद्योग र तालिम प्रदायक संस्थाबीचको सम्बन्धलाई व्यवहारिक बनाउनेछ।”

अध्यक्ष राठीले औद्योगिक प्रतिष्ठानहरूमा आवश्यक प्राविधिक सीप भएका दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै, उक्त अभाव पूर्ति गर्न सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले प्राविधिक तालिम प्राप्त व्यक्तिहरूलाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै उद्योगको उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ अगाडि बढ्ने जानकारी दिए।

सम्झौतामा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, इन्स्योर हेल्भेटास परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंह, क्वालिटी परियोजनाका भानु पण्डित तथा एन.भी.क्यू.एस.का आनन्द पौडेलले हस्ताक्षर गरेका छन्।

इन्स्योर परियोजनाको सहकार्यमा विगत ५ वर्षदेखि सञ्चालन हुँदै आएको सीप विकास कार्यक्रममा यसपटकदेखि स्वीस सरकारका अन्य दुई परियोजना क्वालिटी र एन.भी.क्यू.एस.को समेत सहभागिता रहन थालेको हो।

हस्ताक्षर कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, मानव संसाधन विकास समिति संयोजक दीपक अग्रवाल तथा इन्स्योर, एन.भी.क्यू.एस. र क्वालिटी परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij