काभ्रेपलाञ्चोक । रोशी खोलामा आएको बाढीका कारण सिन्धुली खण्डमा पर्ने बीपी राजमार्गको एक डाइभर्सन बगाएको छ। बाढीले सुनकोशी गाउँपालिका–१ अन्तर्गतको ध्याम्पेखोला–नेपालथोक खण्डमा करिब ५० मिटर सडक कटान गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, यो डाइभर्सन गत असोज महिनामा आएको बाढीले क्षति पुर्याएको स्थानमै अस्थायी रूपमा बनाइएको थियो। तर, पुनः बाढी आउँदा उक्त डाइभर्सन पूर्ण रूपमा बगाएको हो।
त्यस्तै, सोही गाउँपालिका–१ मा पर्ने गजुलीदह क्षेत्रमा माथिबाट खसेको ढुंगा र माटोसहितको पहिरोले राजमार्ग पूर्ण रूपमा अबरुद्ध बनाएको छ। सडक खुलाउने प्रयास भइरहेका प्रहरी स्रोतले जनाएको छ।
प्राकृतिक विपद्का कारण यातायात सेवा प्रभावित भएको छ भने सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।