ई-आर्थिक, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल रु २२ अर्ब २५ करोड ६५ लाख बराबरको बीमा दाबी परेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार यसबीच सबैभन्दा धेरै बागमती प्रदेशबाट बीमा दाबी गरिएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, बागमतीमा मात्रै रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बीमा दाबी परेका छन्। यस प्रदेशबाट १,३४३ वटा दाबी आवेदन दर्ता भएका छन्।
माइक्रो इन्स्योरेन्स कम्पनीसहित कुल १८ वटा बीमा कम्पनीमा देशभरबाट २,४७८ वटा दाबीको आवेदन दर्ता भएका छन्। प्राधिकरणका अनुसार प्रदर्शनका क्रममा भएका सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड लगायतका क्षतिका कारण बीमा दाबी परेका हुन्। बीमा दाबी प्रायः निजी सम्पत्तिमा भएको क्षतिको सन्दर्भमा गरिएको स्पष्ट गरिएको छ।
बीमा दाबीको आकार अझै बढ्न सक्ने प्राधिकरणको अनुमान छ, किनकि ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको पाइएको छ।
बीमा कम्पनीअनुसार, सबैभन्दा धेरै दाबी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ, जहाँ रु ५ अर्ब २२ करोड ९८ लाख बराबरको दाबी आवेदन परेको छ। त्यसपछि सिद्धार्थ इन्स्योरेन्समा रु ५ अर्ब ८ करोड २८ लाख बराबरको दाबी परेको छ।
बीमा दाबीको विवरण हेर्दा, ५३८ वटा सम्पत्ति बीमा, १,७७८ वटा मोटर बीमा, १३२ वटा इञ्जिनियरिङ तथा ठेकेदार जोखिम, ११ वटा परिवहन बीमा, र १९ वटा अन्य बिमा दाबी परेको प्राधिकरणले जनाएको छ।
प्रदेशगत रूपमा दाबीको विवरण
कोशी: ३२२ आवेदन
मधेश: २४६ आवेदन
बागमती: १,३४३ आवेदन
गण्डकी: १८४ आवेदन
लुम्बिनी: २०२ आवेदन
कर्णाली: २२ आवेदन
सुदूरपश्चिम: १५९ आवेदन
बीमा प्राधिकरणले सबै दाबीहरूको मुल्यांकन प्रक्रिया अगाडि बढाइएको जनाएको छ। प्रदर्शनका क्रममा भएका क्षतिको असर दीर्घकालीन हुने संकेत देखिँदै गएको बीमा क्षेत्रका विज्ञहरूले बताएका छन्।