२०८३ भाद्र १७ बुधबार

भोटेकोशी बाढीको बिमा दाबी २५ अर्ब ८७ करोड नाघ्यो, कुल दाबी खर्बनजिक पुग्न सक्ने

ई आर्थिक    बुधबार, भाद्र १७ २०८३
114
Shares
भोटेकोशी बाढीको बिमा दाबी २५ अर्ब ८७ करोड नाघ्यो, कुल दाबी खर्बनजिक पुग्न सक्ने

जलविद्युत् आयोजनामा मात्रै २० अर्ब ५० करोडको प्रारम्भिक दाबी, क्षतिको पूर्ण मूल्याङ्कनसँगै रकम अझ बढ्ने

काठमाडौं : भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनासहित विभिन्न क्षेत्रमा भएको ठूलो क्षतिको आर्थिक प्रभाव बिमा क्षेत्रमा समेत देखिन थालेको छ। बाढीपछि निर्जीवन बिमा कम्पनीमा परेको प्रारम्भिक बिमा दाबी २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ नाघेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार १५ वटा निर्जीवन बिमा कम्पनीमा ५८३ वटा बिमालेखमार्फत उक्त रकम बराबरको दाबी परेको हो। प्रारम्भिक विवरणअनुसार कुल दाबीमध्ये करिब २० अर्ब ५० करोड रुपैयाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा अन्तर्गत परेको छ।

जलविद्युत् आयोजनामा भएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेकाले आगामी दिनमा बिमा दाबीको रकम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।

बिमाविज्ञ डा. रवीन्द्र घिमिरेका अनुसार अहिले देखिएको दाबीको रकम वास्तविक क्षतिको प्रारम्भिक तस्बिर मात्रै हो। प्रभावित जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारको विस्तृत मूल्याङ्कनपछि दाबी रकम अझै बढ्न सक्ने उहाँको भनाइ छ।

इप्पानका अनुसार बाढीका कारण हालसम्म सञ्चालनमा रहेका आठ र निर्माणाधीन चार गरी १२ वटा जलविद्युत् आयोजनाका संरचना ध्वस्त भएका छन्। अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत् क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीबाट विच्छेद भएको छ।

अर्बौं रुपैयाँ लगानीमा निर्माण भएका जलविद्युत् आयोजना, प्रसारण प्रणाली तथा अन्य पूर्वाधारका संरचना बाढीले ठूलो क्षति पुर्‍याएको छ।

ओरिएन्टल इन्स्योरेन्समा सबैभन्दा ठूलो दाबी

बिमा कम्पनीका आधारमा सबैभन्दा ठूलो रकमको दाबी दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीमा आठ वटा बिमालेखमार्फत १३ अर्ब चार करोड २१ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणको तथ्याङ्क छ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट चार अर्ब ९७ करोड ४८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्समा १०२ वटा दाबीबाट दुई अर्ब १० करोड २८ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ वटा दाबीबाट एक अर्ब ८८ करोड ७३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा १२७ वटा बिमालेखबाट एक अर्ब ८७ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

त्यसैगरी हिमालयन एभरेस्ट इन्स्योरेन्समा ४५ वटा बिमालेखबाट ६४ करोड ७८ लाख, नेको इन्स्योरेन्समा ६६ वटा बिमालेखबाट ५१ करोड ७० लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ वटा बिमालेखबाट २४ करोड २३ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

नेपाल इन्स्योरेन्समा ३२ वटा बिमालेखबाट २३ करोड ८६ लाख, आइजिआई प्रुडेन्सियलमा २६ वटा बिमालेखबाट १८ करोड ७३ लाख र एनएलजी इन्स्योरेन्समा २१ वटा बिमालेखबाट ११ करोड ३१ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

प्रभु इन्स्योरेन्समा १४ वटा दाबीबाट तीन करोड १२ लाख, राष्ट्रिय बिमा कम्पनीमा दुई वटा दाबीबाट ७६ लाख, नेसनल इन्स्योरेन्समा दुई वटा दाबीबाट करिब ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा एउटा दाबीबाट पाँच लाख रुपैयाँ बराबरको दाबी परेको छ।

इन्जिनियरिङ बिमामा मात्रै २० अर्बभन्दा बढी

बिमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो रकम इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा परेको छ। यस शीर्षकमा मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

सम्पत्ति बिमाअन्तर्गत ११३ वटा बिमालेखबाट दुई अर्ब ३४ करोड ६२ लाख र मोटर बिमाअन्तर्गत ३१३ वटा बिमालेखबाट एक अर्ब ५५ करोड नौ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

त्यस्तै परिवहन बिमामा ४७ वटा बिमालेखबाट ८९ करोड ७७ लाख, अन्य बिमा शीर्षकमा ५४ वटा बिमालेखबाट ५२ करोड ९२ लाख तथा स्वास्थ्य बिमामा चार वटा बिमालेखबाट चार करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

कुल दाबी खर्बनजिक पुग्न सक्ने

भोटेकोशी बाढीबाट जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधार, सवारीसाधन, व्यावसायिक सम्पत्ति र सीमावर्ती नाकामा रहेका सामानमा ठूलो क्षति पुगेकाले आगामी दिनमा बिमा दाबी थप बढ्न सक्ने बिमाविज्ञ डा. घिमिरेको भनाइ छ।

उहाँका अनुसार हालसम्म प्राप्त दाबी प्रारम्भिक भएकाले वास्तविक क्षतिको विवरण संकलनसँगै दाबीको संख्या र रकम दुवै बढ्ने सम्भावना छ। उहाँले बाढीबाट हुने कुल बिमा दाबी खर्ब रुपैयाँनजिक पुग्न सक्ने आकलन गर्नुभएको छ।

जलविद्युत् आयोजना, निजी घर, होटल तथा रिसोर्ट, गोदाम, सवारीसाधन र व्यावसायिक सम्पत्तिमा भएको क्षतिको पूर्ण विवरण अझै संकलन हुन बाँकी छ।

प्रभावित क्षेत्रमा सडक तथा पहुँच पूर्वाधारमा समेत क्षति पुगेकाले बिमा कम्पनीका प्राविधिक टोलीलाई स्थलगत निरीक्षणमा जान कठिनाइ भइरहेको नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बताउनुभयो।

उहाँका अनुसार बाढीबाट क्षति भएका बिमित सम्पत्तिको प्रारम्भिक विवरण संकलन गरी दाबी प्रक्रिया सहज बनाउन बिमा कम्पनीलाई निर्देशन दिइएको छ। दाबीको विवरण र भुक्तानीसम्बन्धी काम सुरु भए पनि पूर्ण विवरण आउन अझै समय लाग्ने उहाँको भनाइ छ।

दाबी भुक्तानी गर्न बिमा कम्पनी तयार

बिमा क्षेत्रका अधिकारीहरूले ठूलो रकमको दाबी परे पनि नेपाली निर्जीवन बिमा कम्पनीहरू दाबी भुक्तानी गर्न सक्षम रहेको बताएका छन्।

विभिन्न बिमा कम्पनीले प्रभावित क्षेत्रमा तथ्याङ्क संकलन तथा दाबी व्यवस्थापनका लागि ‘डेडिकेटेड टिम’ परिचालन गरेका छन्। तर प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएकाले क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने अवस्था रहेको बिमक सङ्घका कोषाध्यक्ष तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताउनुभयो।

बाढीका कारण बिमा दाबीका लागि आवश्यक कागजात तथा प्रमाणसमेत नष्ट भएको हुन सक्ने भन्दै बिमितका लागि दाबी प्रक्रिया थप सहज बनाउनुपर्ने सङ्घको माग छ।

सङ्घले न्यूनतम कागजात र उपलब्ध प्रमाणका आधारमा दाबी प्रक्रिया अघि बढाउन सकिने गरी बिमा प्राधिकरणले विशेष मापदण्ड बनाउनुपर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij