ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ। मन्त्रीहरूले आजै सिंहदरबारस्थित सम्बन्धित मन्त्रालयमा पदबहाली गरेका छन्।
सरकारको निर्णयअनुसार, रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालय, र ओमप्रकाश अर्याललाई गृह तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
बाँकी मन्त्रालयहरूको जिम्मा भने प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने भएकी छन्।
रामेश्वर खनाल
पूर्वअर्थ सचिव रहेका खनाल नेपालको आर्थिक सुधार, बजेट पारदर्शिता र सुशासन प्रवर्द्धनमा सक्रिय रहेका प्रशासक हुन्। सरकारी तथा अन्तर्राष्ट्रिय आर्थिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका खनाललाई अब अर्थ मन्त्रालयको बागडोर पाएका छन् ।
कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रहेका घिसिङ लोडसेडिङ अन्त्यको नेतृत्वदायी भूमिकाबाट चर्चामा आएका थिए। प्राधिकरणबाट बाहिरिएपछि नागरिक सरोकारका विषयमा सक्रिय रहेका उनी अब ऊर्जा, भैतिक पूर्वाधार तथा सहरी विकासको चुनौती सम्हाल्न सरकारी पङ्क्तिमा फर्किएका छन्।
ओमप्रकाश अर्याल
अधिवक्ता तथा पूर्वप्रशासक अर्याल कानुनी क्षेत्रका चर्चित व्यक्तित्व हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध मुद्दा दायर गरेपछि उनी सार्वजनिक चासोमा आएका थिए। अर्यालले अब गृह र कानुन मन्त्रालयको नेतृत्व गर्नेछन्।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा विषयगत विज्ञता, इमानदार छवि र प्रशासनिक अनुभवलाई प्राथमिकता दिएको बताइएको छ। अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीको यो टिमले आगामी निर्वाचनसम्म शासन सञ्चालन गर्नेछ।