ई-आर्थिक, काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशतले बढेर रु. ८११ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धि दर १३ प्रतिशत थियो।
२०८२ असार मसान्तसम्म कुल निक्षेपमा बचत खाता ३६.८ प्रतिशत र मुद्दती निक्षेप ४८.३ प्रतिशत रहेको छ। संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत कायम छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई प्रवाहित गरेको कर्जा ८.४ प्रतिशतले वृद्धि भएर रु. ४२३ अर्ब ७३ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५.८ प्रतिशत भन्दा बढी हो।
कर्जाको ६२.८ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रमा र ३७.२ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा लगानी भएको छ।
वाणिज्य बैंकहरूले ८.६ प्रतिशत, विकास बैंकहरूले ६.१ प्रतिशत र वित्त कम्पनीहरूले ८.४ प्रतिशत कर्जा वृद्धि गरेका छन्।
लगानीमा रहेको कर्जाको ६४.७ प्रतिशत घर जग्गाको धितोमा र १४.५ प्रतिशत कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाहित भएको छ।
औद्योगिक उत्पादन क्षेत्रतर्फ कर्जा ७.९ प्रतिशत, यातायात तथा सञ्चारमा १५.५ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ३.४ प्रतिशत र सेवा उद्योगमा १२.८ प्रतिशतले वृद्धि भए पनि कृषि क्षेत्रको कर्जा ०.२ प्रतिशतले घटेको छ।
प्रकारगत कर्जामा आवधिक कर्जा ७.१ प्रतिशत, रियल स्टेट कर्जा ५.९ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ५६.२ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशतले घटेको छ।