२०८३ असोज ५ सोमबार

शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध मुद्दा दायर, १ अर्ब ७४ करोड ६२ लाख राजस्व छलीको आरोप

ई आर्थिक    सोमबार, भाद्र २ २०८२
4.4K
Shares
शिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध मुद्दा दायर, १ अर्ब ७४ करोड ६२ लाख राजस्व छलीको आरोप

काठमाडौं : तातोपानी नाका हुँदै भन्सार छली गरेर भित्र्याइएको विद्युतीय चुरोट (भेप) प्रकरणमा संलग्न आरोपमा शिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

राजस्व अनुसन्धान विभागले १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको राजस्व छलीको बिगो र ५ वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो।

भेपसहित ८६ हजार थान सामग्री बरामद

२०७८ पुस २२ गते ललितपुरको महालक्ष्मी-४ स्थित एक गोदामबाट विभागले ८६ हजार ४ सय थान भेप बरामद गरेपछि अनुसन्धान तीव्र पारिएको थियो।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अनुसन्धानको क्रममा शिल्क ग्रुपले भेप मात्र होइन, अन्य सामग्रीमा पनि राजस्व छलेको पुष्टि भएको हो।

शिल्क ग्रुपको कार्यालयमा छापा

भेप बरामद भएसँगै विभागले शिल्कको ललितपुरको शाखा कार्यालय र काठमाडौं नक्सालस्थित मुख्य कार्यालयमा छापा मारेको थियो। करिब साढे ५ महिनाको अनुसन्धानपछि संलग्नहरूको पहिचान गरी मुद्दा दायर गरिएको अधिकारीले जानकारी दिए।

शेर्पाका भिनाजु विजय शेर्पा नाकामा बसेर भन्सार तथा अन्य सरोकारवालासँग ‘सेटिङ’ मिलाउने काममा संलग्न रहेको बताइएको छ।

कम्पनीमार्फत ठूला कारोबार

रमेश शेर्पाले शिल्क ग्रुपसहित सातवटा कम्पनीमार्फत कारोबार सञ्चालन गर्दै आएका थिए। विभागका अनुसार यी कम्पनीहरूले योजनाबद्ध ढंगले भन्सार छलेर राजस्व हिनामिना गरेका छन्।

मुद्दामा फरार अभियुक्तहरू

सिल्क ग्रुपका कर्मचारी सन्तोष पराजुली र गोदाम सञ्चालक महेशप्रसाद पाठकमाथि पनि संलग्नता देखिएको भन्दै उनीहरूलाई मुख्य अभियुक्तभन्दा आधा सजाय माग गरिएको छ।

सबै प्रतिवादी हाल फरार रहेकोले जिल्ला अदालत ललितपुरले उनीहरूका नाममा म्याद काट्ने तयारी गरिरहेको श्रेस्तेदार शैलेन्द्र खतिवडाले जानकारी दिए।

राजनीतिक पहुँच पनि रह्यो प्रभावहीन

रमेश शेर्पाको सम्बन्ध सिन्धुपाल्चोकका कांग्रेस नेता मोहन बस्नेत र माओवादी अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालसँग रहेको बताइन्छ। उनले चीनबाट रासायनिक मल ढुवानीको ठेक्का समेत पाएका थिए।

राजनीतिक पहुँच हुँदाहुँदै पनि ठूलो परिमाणको राजस्व छलीको प्रमाण फेला परेपछि विभागले उनलाई मुद्दा दायर गर्नबाट रोकेन।

को हुन् रमेश शेर्पा ?

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ का रमेश शेर्पा सामान्य परिवारबाट उदाएका हुन्। उनका बाबु तातोपानी नाकामा मैदा, चामल, धूपलगायत सामग्रीको सानो व्यापार गर्थे।

लकडाउनको समयमा चीनबाट सुन लगायतका वस्तुहरू भित्र्याएर रमेश एकाएक मालामाल बनेको स्रोतहरू बताउँछन्। व्यवसाय बढेसँगै उनी चिनियाँ र भारतीय व्यापारीसँग समेत सिधा सम्पर्कमा पुगे।

विजय शेर्पा नाकामा बसेर स्थानीय ‘सेटिङ’ मिलाउँथे भने रमेश राजधानीमै बसेर प्रमुख दलका नेता, कर्मचारी तथा सुरक्षा निकायलाई प्रभावमा पार्दै कारोबार सञ्चालन गर्थे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij