ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कामय राख्दै नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार तोलाको मूल्य एक हजार रुपैयाँले बढ्दै इतिहासकै सर्वाधिक दरमा, अर्थात् एक लाख ९९ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला १,९८,५०० रुपैयाँ पुगेर उच्च विन्दुमा पुगेको थियो। तर शुक्रबारको मूल्यवृद्धिले त्यो रेकर्ड भंग गर्दै सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। बिहीबार तोलाको २,३१५ रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार २,३२५ रुपैयाँ मा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य वृद्धि हुनु, डलरको भाउमा भएको उतारचढाव, र स्थानीय बजारमा माग आपूर्तिको अवस्था मूल्य वृद्धिका प्रमुख कारण हुन्।