ई–आर्थिक, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा रहेको लुम्बिनी विकास बैंकको शाखा कार्यालयमा शनिबार बिहान भएको आगलागीले ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बिहान करिब ७:४५ बजे विद्युत सर्ट भएको कारण बैंकमा अचानक आगलागी भएको हो।
प्रहरी निरीक्षक सुजन शाहका अनुसार आगलागीमा बैंकमा रहेको एयर कन्डिशनर (एसी), फर्निचर, ल्यापटप, कम्प्युटर लगायतका मूल्यवान सरसामान जलेर नष्ट भएका छन्।
आगलागीपछि शिवराज नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगमा करिब डेढ घण्टामा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
आगलागीका कारण भवनबाहिर रहेका केही सामग्रीहरूमा समेत क्षति पुगेको छ भने बैंकमा रहेको नगद र डिजिटल डाटा भने सुरक्षित रहेको पुष्टि गरिएको छ।
प्रहरी र स्थानीय प्रशासनले आगलागीको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।